आन्तरिक र बाह्य दुवै कारणले चुनाव हारियो : प्रचण्ड

काठमाण्डु टुडे २०७० पुष १२ गते ९:५५ मा प्रकाशित

prachanda 2काठमाण्डु, १२ पुस – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र जनताबीचको दूरी बढ्नु नै चुनावमा पराजयको मुख्य कारण भएको बताएका छन् ।

पूर्वपोलिटब्युरो सदस्यको काठमाण्डुमा भएको बैठकमा प्रचण्डले चुनावमा पार्टी पराजित हुनुमा आन्तरिक र बाह्य दुवै कारण उत्तिकै जिम्मेवार रहेको बताए ।

प्रचण्डले पार्टी भित्र कमजोरी बढेको र अनुशासन कायम हुन नसक्नु पनि हारको अर्को कारण भएको उल्लेख गरेका छन् । उनले पार्टीका कमजोरीमाथि टेकेर विभिन्न शक्तिले धाँधली गर्ने अवसर पाएको बताए ।

‘हामीलाई चुनावमा हराइएको छ,’ प्रचण्डको भनाइ उदृत गर्दै माओवादीका एक नेताले  भने, ‘हामीबाट पनि केही कमजोरी भयो र तिनै कमजोरीमाथि टेकेर अरुले धाँधली गर्ने मौका पाए ।’

उनले बैठकमा पार्टी नेताहरुले वर्ग छोडेको र जनतासँगको निकटतामा रहन नसक्दा हार ब्यहोर्नुपरेको बताएका छन् । प्रचण्डले चुनावमा पार्टी पराजको जिम्मेवारी पार्टी अध्यक्षको हैसियतमा आफूले लिने र अरु नेताहरुले पनि आ–आफ्नो ठाउँबाट त्यसको जिम्मेवारी लिनुपर्ने बताए ।

जनयुद्ध र जनाआन्दोलनको जिम्मेवारी रक्षा गर्ने कार्यभार माओवादीको भएपनि चुनावी नतिजा त्यस अनुसार आउन नसकेको भन्दै प्रचण्डले अब संगठन सुदृढिकरणमा सबै लाग्नुपर्ने बताए ।

यस्तै समानुपातिकतर्फका सभासद छनोट गर्दा इमान्दार र क्रियाशील सदस्यलाई प्राथमिकता दिइने प्रचण्डको भनाइ थियो । उनले त्यसका लागि छुट्टै मापदण्ड बनाउने भन्दै प्रत्यक्ष तर्फ निर्वाचन नजितेका जिल्लालाई प्राथमिकतामा राखिने समेत बताए ।

बैठकमा वरिष्ठ नेता डा बाबुराम भट्टराईले पनि जनतासँगको दूरी बढ्दा पार्टीले चुनाव हारेको भन्दै जनसम्बन्ध सुदृढिकरण गर्नुपर्ने बताए । उनले आफू व्यक्तिगत लोभ लालच भन्दा पनि आदर्श भनेर पार्टीमा लागेको भन्दै संगठन सुदृढ गर्नुपर्नेमा जोड दिए ।

भट्टराईले पार्टीलाई सुदृढ बनाएर अघि बढाउन तलदेखि माथिसम्मका समितिहरु मनोनयनबाट भन्दा पनि निर्वाचन प्रक्रियाबाट चयन हुनुपर्ने बताएको पूर्व पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले बताए ।

यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठले चुनाव हार्नुमा पार्टीमा विकसित खराब चरित्रले काम गरेको भन्दै सब सबै सच्चिनुपर्ने बताए । उनले राष्ट्रियताका सम्बन्धमा पार्टीले उठाउँदै आएका एजेण्डा छोड्नु पनि चुनावमा पराजयको कारण भएको बताएका थिए ।

श्रेष्ठले पार्टी संगठन रुपान्तरण हुन नसकेको बताएका थिए । उनले माओवादीलाई चुनावमा पहिलो बन्न नदिन ठुलो डिजाइन भएको भन्दै सबै कुराको समीक्षा हुनुपर्ने माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us