जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सुझाव

काठमाण्डु टुडे २०७० पुष १२ गते ५:४७ मा प्रकाशित

काठमाण्डु १२ पुस–पछिल्लो जनादेशले दिएको मेलमिलाप र सहकार्यको सन्देशलाई आत्मसात गरेर अघि बढ्न राजनीतिक दलहरुलाई सुझाव दिइएको छ ।
टङ्कप्रसाद स्मृति प्रतिष्ठानद्वारा स्व. आचार्यको १०२ आँै जन्मजयन्तीका सन्दर्भमा शुक्रवार आयोजित ‘वर्तमान राजनीतिक स्थिति र आगामी दिनमा सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिका’ विषयक अन्तक्र्रियाका सहभागीले राजनीतिक प्रक्रियामार्फत नै जनतालाई अधिकार सम्पन्न गराउने कार्यलाई केन्द्रबिन्दुमा राखेर दलहरुले काम गर्नुपर्नेमा जोड दिए ।
जनताले शासन होइन सुशासन खोजेका हुन् भन्ने पूर्व प्रधानमन्त्री आचार्यको विचारका आधारमा दलहरुले मुलुकसामु देखिएका चुनौती समाधान गर्न प्रयत्न गर्नुपर्ने उनीहरुले बताए ।
परिवर्तनका लागि विभिन्न समयमा मुलुकमा भएका सङ्घर्ष र आन्दोलनका उपलब्धिहरुलाई सँगसँगै जोडेर लैजानुपर्ने बताउँदै उनीहरुले ती परिवर्तनका जगमा टेकेर नै समृद्ध नयाँ नेपाल बनाउने अभियानलाई पूर्णता दिनुपर्ने धारणा राखे ।
संविधानसभा निर्वाचनमार्फत नेपाली जनताले काँग्रेस र एमालेलाई मिलेर जाने जनादेश दिएको र एक अवस्थामा अवलम्बन गरिएको हिंसाको राजनीति अब नदोहो¥याउने प्रतिबद्धता जनताले एनेकपा (माओवादी)सँग मागेको उनीहरुले बताए ।
निर्वाचन पूरा भएको झन्डै डेढ महिना पुग्न लाग्दासमेत आफ्ना जनप्रतिनिधिको नाम थाहा नपाउनुले निर्वाचन प्रक्रिया र प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएको पनि ती वक्ताहरुले बताए ।
सो कार्यक्रममा राजनीतिज्ञ नीलाम्बर आचार्य, प्रतिष्ठानका अध्यक्ष प्रा. सोमप्रसाद गौचन, डा. मीना आचार्य, सम्पादकद्वय किरण नेपाल र टंक पन्त, बुद्विजीवी अरविन्द रिमाल, डा. सुरेश सत्याल र समिरा पौडेललगायतले नेपालको राजनीतिक क्षेत्रका ज्यूँदा सहिदका नामले परिचित स्व. आचार्यको आदर्श र व्यक्तित्वलाई अनुसरण गरी अघि बढ्न सके अहिलेको राजनीतिक गतिरोध अन्त गर्न सहज हुने धारणा राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us