पुस्तकालयलाई प्रवासी नेपालीको सहयोग

काठमाण्डु टुडे २०७० पुष १२ गते ८:१९ मा प्रकाशित

बाबियाचौर, १२ पुस–म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी सामुदायिक पुस्तकालयलाई अस्ट्रेलियामा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् ।

अस्ट्रेलियामा रहेका म्याग्देलीले साङ्गीतिक कार्यक्रममार्फत संकलन गरेको तीन लाख रुपैयाँ सहयोग गरेका पुस्तकालयका सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिए । म्याग्दी सेवा समाज अस्ट्रेलियामार्फत सहयोग प्राप्त भएको हो ।

दस वर्षअघि द्वन्द्वको समयमा जलेको पुस्तकालय भवन पुनःनिर्माण गर्दा लागेको ऋण तिर्न प्रवासीले सहयोग गरेका हुन् । द्वन्द्वको क्रममा भएको दोहोरो भिडन्तमा जिविससँगै रहेको पुस्तकालय भवनको साथै ६ हजारभन्दा बढी पुस्तक जलेका थिए ।

विसं २०६४ मा पुस्तकालय पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माण गर्ने क्रममा हालसम्म १४ लाख रुपैयाँ ऋण रहेको पुस्तकालयका अध्यक्ष सन्तोष रावलले बताए । ऋण तिर्न र पुस्तकालयको क्षमता विस्तार गर्ने उद्देश्यले पुस ७ गते बेनीमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्यको साङ्गीतिक कार्यक्रम पनि गरिएको थियो ।

नेपथ्य समूहका मुख्य गायक अमृत गुरुङको साङ्गीतिक प्रस्तुति रहेको सो कार्यक्रममा तीन लाख ६० हजार रुपैयाँको टिकट बिक्री भएकोमा दुई लाख रुपैयाँ बचत भएको बताइएको छ ।

विक्रम संवत् २०२७ मा स्थापित म्याग्दी सामुदायिक पुस्तकालय जिल्लाकै पुरानो मानिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us