
काठमाण्डु, १२ पुस–संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित प्रोजेक्ट क्योर संस्थाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जलाई करिब छ करोड रुपैयाँ बराबरको मेडिकल उपकरण उपलब्ध गराएको छ ।
पूर्व सभामुख तारानाथ रानाभाटको पहलमा अन्तर्राष्ट्रिय रोटरी क्लब कान्तिपुरको आर्थिक सहयोगमा शिक्षण अस्पताललाई शुक्रबार ती सामान हस्तान्तरण गरिएको हो ।
गत वैशाखमा प्रोजेक्ट क्योरद्वारा शिक्षण अस्पतालमा आवश्यक उपकरणको पूर्व सर्वेक्षण तथा आवश्यकता पहिचान गरेर ती सामान ल्याइएको थियो ।
सामान हस्तान्तरण समारोहमा स्वास्थ्य मन्त्री विद्याधर मल्लिकले सबै अस्पतालमा स्रोत साधनको अभाव रहेको भए पनि विभिन्न संस्थाबाट प्राप्त हुने सहयोगको पूर्ण सदुपयोग गरेर बिरामीको हितका लागि काम गर्नुपर्ने बताए । उनले मुलुकको विकासका लागि भौतिक संरचना सडक, पुल, पूर्वाधारजस्ता निर्माण सँगसँगै शिक्षा, स्वास्थ्यजस्ता मानवीय हितको क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको स्वीकार गरे ।
यसैगरी पूर्व सभामुख तारानाथ रानाभाटले धनी गरिब सबैका लागि सहज ढङ्गले स्वास्थ्य सेवा उपलब्ध हुनुपर्नेमा जोड दिए ।
अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. भगवान् कोइरालाले प्राप्त कतिपय सामान प्रयोगमा ल्याई बिरामी लाभान्वित भएको बताउनुभयो ।
त्रिवि चिकित्सा संस्थानका निमित्त डीन प्राध्यापक डा. विमलकुमार सिन्हाले निम्नस्तरका जनताको स्वास्थ्योपचारको लागि उपलब्ध उपकरणको पूर्ण उपयोग गरिने बताउँदै सहयोगदाताप्रति आभार प्रकट गरेका थिए ।