
काठमाण्डु, १२ पुस–काठमाण्डु महानगरपालिका भित्र शुक्रबारदेखि पार्किङ शुल्क तिर्नु नपर्ने भएको छ । यसअघि गाडि, मोटरसाइकल पार्किङ गरेबाफत् शुल्क बुझाउनु पर्थ्यो ।
शुक्रबारदेखि भने काठमाण्डु महानगरपालिकाले घोषणा गरेको निःशुल्क पार्किङको व्यवस्था कार्यान्वयनमा आएको छ ।
महानगरपालिकाले पुस १ गतेदेखि नै निःशुल्क पार्किङ कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । त्यसविरुद्ध पुनरावेदन अदालत पाटनमा रिट परेको थियो । सो रिट अदालतले विहीबार खारेज गर्दै निःशुल्क पार्किङको व्यवस्था गर्ने महानगरपालिकाको निर्णय सदर गरेको छ ।
काठमाण्डु महानगरपालिकाको सार्बजनिक स्थानमा गाडि पार्किङ गरेवाफत अब शुल्क लाग्दैन । तर, तोकिएको ठाउँमा मात्रै व्यवस्थित तरिकाले पार्किङ गर्नुपर्ने हुन्छ । यदी कसैले पार्किङ शुल्क लिएमा कारवाही हुने काठमाण्डु महानगरपालिका राजश्व महाशाखा प्रमुख महेश्वर काफ्लेले बताए ।