छुट्टै सूची बुझाउने ओली पक्षको धम्की

काठमाण्डु टुडे २०७० पुष १२ गते १०:१५ मा प्रकाशित

CPN-UMLकाठमाण्डु, १२ पुस–आन्तरिक बिवादका बाबजुद नेकपा एमालेले समानुपातिक सभासद छनोट अन्तिम चरणमा पुर्याएको छ । पार्टीले पाएको ८४ समानुपातिक सिटमध्ये मध्यान्हसम्म झण्डै ६० सभासदको टुंगो लागिसकेको छ । बाँकी सभासद छनौटको प्रयास जारी छ ।

प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले निर्वाचन आयोगमा शुक्रबारै सूची बुझाउने गरी छलफल चलिरहेको जानकारी दिए ।

आन्तरिक गुटबन्दी र धेरै आकांक्षीका कारण सभासद छान्न कठिन भएपछि एमालेका शीर्ष नेताहरु पार्टी कार्यालयमा बैठक बस्न छाडेर काठमाडौंको गोकर्ण रिसोर्टमा पुगेका छन् । तीन दिनदेखि जारी स्थायी कमिटी बैठकमा तिब्र ध्रुवीकरण भएको छ ।

छुट्टै सूची बुझाउने ओली पक्षको धम्की

राष्ट्रपति निर्वाचन, पार्टीको नवौं महाधिवेशनमा अध्यक्षको छनोट र संसदीय दलको नेता चयन लगायत कुरालाई ध्यानमा राख्दै शीर्ष नेताहरूले आ–आफ्ना पक्षका सभासद्को नाम अघि सारेका छन् ।

अल्पमतमा परेका नेता केपी ओली पक्ष बहुमतको आधारमा सभासद चयन गर्न खोजिएको भन्दै रुष्ट भएको छ । ओली निकट मानिने केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले अल्पमत र बहुमतको आधारमा निर्णय भए निर्वाचन आयोगमा अलग्गै सूची बुझाइदिने चेतावनी दिएका छन् । ‘सर्वसम्मत निर्णय नगरी स्थायी समितिको बहुमतबाट पेलेर निर्णय गर्ने प्रयास भयो भने हामी निर्वाचन आयोगमा छुट्टै सूची बुझाइदिन्छौं,’ नेता श्रेष्ठले भने ।

स्थायी कमिटी बैठकमा अरु कुनै पनि नेताहरुलाई प्रवेशमा रोक लगाइएको छ ।

अहिलेको सभासद् चयनले पार्टीभित्र र सत्ता समीकरणको शक्ति बाँडफाँटमा प्रभाव पार्ने भएकाले नेताहरूको आ–आफ्नो गुटका मान्छे बढी छान्ने कसरतले सभासद छान्ने प्रक्रिया लम्बिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us