
नयाँदिल्ली, १२ पुस–भारतको आम आदमी पार्टीको नेतृत्व अरविन्द केजरीवालले नसम्हाल्ने भएका छन् । हालैको विधानसभा चुनावबाट दोस्रो ठूलो दल बनेको आम आदमी पार्टीको नेतृत्व गर्दै आएका केजरीवालले अबदेखि सरकार मात्रै सम्हाल्ने भएका छन् ।
दिल्लीमा १५ बर्षसम्म शासन गरेकी काँग्रेसकी मुख्यमन्त्री शिला दिक्षितलाई हराएर चर्चामा आएका थिए उनले पार्टीको नेतृत्व सन्जय सिंहलाई सुम्पिएका छन् । केजरीवालले सरकारको नेतृत्व सम्हाल्ने भएपछि सिंहलाई पार्टीको जिम्मेवारी दिइएको हो ।
केजरीवालले दिल्लीको मुख्यमन्त्री पदको शपथ ग्रहण २८ शनिबार गर्दैछन् । शपथ लिएपछि जनवरी ३ तारिकभित्र उनले सरकारमा बहुमत पुर्याउनु पर्ने हुन्छ ।
को हुन् सन्जय सिंह ?
दिल्ली विधानसभाको दोस्रो ठूलो दल आम आदमी पार्टीको जिम्मेवारी पाएका सन्जय सिंहले सन् १९९८ मा ‘आजाद समाज सेवा समिति’ नामको सामाजिक संस्था गठन गरी अन्ना हजारेको भ्रष्टाचार विरोधी अभियानमा सहभागी भएका थिए ।
उत्तर प्रदेशको सुल्तानपुरमा जन्मिएका र माइनिङ इन्जीनियरिङमा डिप्लोमा गरेका उनी आम आदमी पार्टीको केन्द्रीय कमिटी सदस्य हुन् ।