
कास्की, १२ पुस– दुहुना गाई भैंसीको दूध कसरी बढाउने भन्ने चिन्ता सँधै किसानहरुलाई हुन्छ । धेरै दूध आओस् भनेर कतिपय किसानले पैसा खर्च गरेर बजारबाट बिभिन्न प्रकारका दाना किनेर खुवाउँछन् । तर, अब चिन्ता गर्नु पर्दैन, तपाईं हाम्रै खोलाखोल्सीमा पाइने घाँसबाट दूध बढाउन सकिन्छ । यो कुरा नेपालका कृषि अनुसन्धानकर्ताहरुले पुष्टि गरेका हुन् ।
अरू घाँसभन्दा बैंसको घाँस खुवाएमा २५ देखि ५० प्रतिशतसम्म बढी दूध दिने एक अध्ययनले देखाएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले पोखराले अर्घाखाँचीको खोला र खोल्साका किनारामा पाइने बैँस घाँसको प्रभावसम्बन्धी अध्ययन गरेपछि यो जानकारी खुलेको हो ।
अरू घाँसभन्दा पोसिलो र पौष्टिक आहार पनि बढी पाइने भएकाले यो घाँस भैँसीलाई खुवाउँदा दूध बढी आउने अनुसन्धानकर्ता क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले पोखराका प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिए । जिल्लाका अधिकांश स्थानमा पाइने यो घाँसलाई कतै कतै घाँसका रुपमा प्रयोग गर्दै आए पनि बैँसको घाँस खुवाउँदा भैँसी बिरामी हुने तथा माटेरोग लाग्छ भन्ने गाउँघरे भनाइका कारण यो घाँस गाईभैँसीलाई नदिने प्रचलन रहेको छ ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले जिल्ला पशुसेवा कार्यलय अर्घाखाँचीमा कार्यक्रम गरी बँैसको घाँसबारे जानकारी गराएपछि जिल्लाका कृषक लाभान्वित भएका छन् । कार्यक्रममा पशुपालन तथा घाँसबारे क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक यमुनाकुमार श्रेष्ठ, वैज्ञानिक मनोजकुमार शाह, बुद्धिराम आचार्य, जिल्ला पशुसेवा कार्यालय अर्घाखाँचीका प्रमुख डा. रामनारायण मण्डललगायतले कृषकलाई जानकारी गराएका थिए ।
पशुपालन र बैँसको घाँसबारे जानकारी पाएपछि आफूहरुलाई ठूलो राहत मिलेको स्थानीय कृषक भीमलाल आचार्य र देवबहादुर खड्काले बताए । कार्यक्रममा जिल्लाका २५ जना कृषकको सहभागिता रहेको थियो ।