पार्टी हार्नुमा आन्तरिक कारण जिम्मेवार : एमाओवादी

काठमाण्डु टुडे २०७० पुष ११ गते १५:१५ मा प्रकाशित

UCPN-Maoistकाठमाण्डु, ११ पुस– एकीकृत माओवादीका पूर्वपोलिटब्युरो सदस्यहरुले निर्वाचनमा पार्टी पराजित हुनुमा आन्तरिक कारण जिम्मेवार रहेको बताएका छन् ।

बिहीबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पूर्वपोलिटब्युरो सदस्यहरुको बैठकमा बोल्ने अधिकांशले पार्टी संगठन मजबुत नहुँदा चुनावमा पराजय ब्यहोर्नुपरेको बताएका छन् ।

जनता र पार्टीबीचको दूरी बढेकाले चुनावमा पराजय भोग्नु परेको उनीहरुको भनाइ थियो । निर्वाचन परिणाम सार्वजनिक हुँदै गर्दा बसेको माओवादी केन्द्रीय समितिको आकस्मिक बैठकले निर्वाचनमा संस्थागत, प्रक्रियागत र नीतिगत धाँधली भएको निष्कर्ष निकालेको थियो ।

बैठकमा बोल्ने अधिकांश नेताले पराजयको कारण धाँधली मात्र नभइ आन्तरिक कारण पनि उत्तिकै जिम्मेवार रहेको बताएका थिए । पार्टीको राजनीतिक, सांगठनिक र व्यवहारजन्य कमजोरीमा टेकेर कांग्रेस–एमालेले धाँधली गरेको दावी नेताहरुको थियो ।

पछिल्लो राजनीतिक अवस्था, चुनावी समीक्षा तथा केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बोलाइएको बैठकमा नेताहरुले संगठन सुदृढीकरणमा जोड दिएको पूर्वपोलिटब्युरो सदस्य एवं मगरात राज्य समितिका इन्चार्ज लोकेन्द्र विष्टले जानकारी दिए । ‘हामीले धेरै काम गर्न सकेनौं, त्यसैले चुनावमा हाम्रो हार भयो,’ उनले काठमाण्डु टुडेसँग भने, ‘हाम्रो कमजोरीमाथि टेकेर अरुले धाँधली गरे ।’

यस्तै बैठकमा समानुपातिकतर्फको सभासद छनोट गर्दा निश्चित मापदण्ड बनाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । उनीहरुले पार्टीको तर्फबाट प्रतिनिधित्व गर्न सक्ने र सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी सभासद छान्न आग्रह गरेका छन् ।

बिहीबारको बैठकमा अमिक शेरचन, गोपाल किराँती, नन्दकिशोर पुन, लीलामणि पोखरेल, विश्वभक्त दुलाल, नवराज सुवेदी, स्वनाम साथी, लीलबहादुर थापा र विश्वनाथ शाहलगायतले धारणा राखेका थिए ।

बैठक शुक्रबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको छ । शुक्रबार बैठकको सुरुमा नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीले बोलेपछि मात्र अन्यले बोल्नेछन् ।

बिहीबारको बैठकमा बोल्ने अधिकांशले निर्वाचनमा भएको भनिएको धाँधलीबारे पार्टी केन्द्रीय समितिको निष्कर्षविपरीत धारणा राखेको भन्दै भट्टराई र श्रेष्ठको  चर्को आलोचना गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us