‘प्रजातान्त्रिक संविधान जारी हुने विश्वास’

काठमाण्डु टुडे २०७० पुष ११ गते १२:४४ मा प्रकाशित

paramananda jhaकाठमण्डु, ११ पुस – उपराष्ट्रपति परमानन्द झाले संविधानसभाले पूर्ण प्रजातान्त्रिक संविधान जारी गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । भारतीय दूतावासले बिहिबार गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेपाल र भारतबीच सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै उपराष्ट्रपति झाले शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताको सम्मान र अहस्तक्षेपको नीतिमा आपसी सम्बन्ध आधारित भएको बताए ।

संविधानसभाको निर्वाचनका साथै नेपालको सामाजिक–आर्थिक विकासका निम्ति भारतले गरेको सहयोगको प्रशंसा गर्दै उपराष्ट्रपति झाले सरकारीस्तरका साथै जनस्तरमा पनि नेपाल–भारत सम्बन्ध अत्यन्त सुमधुर रहेको उल्लेख गरे ।

‘खुला सिमाना भएका मुलुक विश्वमा कतै नभएका र बेरोकटोक दुवै देशका जनता एक अर्काको भूमिमा आवतजावत गर्नु द्विपक्षीय सम्बन्धको अद्वितीय नमुना हो’– उपराष्ट्रपति झाले भने ।

आफूले कक्षा पाँचदेखि र स्नातक तहसम्म भारतमा अध्ययन गरेको स्मरण गर्दै उनले भारतीय शिक्षा प्रणाली स्तरीय भएकाले विदेशीहरू पनि भारतमा उच्च शिक्षा अध्ययनका लागि जाने गरेको बताए ।

नेपालका लागि भारतीय राजदूत रञ्जित रेले विविध विषयमा अल्पकालीन एवम् दीर्घकालीन तालिमका साथै विश्वविद्यालय तहमा पनि छात्रवृत्ति उपलब्ध गराउँदै आएको र उच्च तहमा थप छात्रवृत्ति प्रदान गर्न भारत क्रियाशील रहेको उल्लेख गरे ।

कार्यक्रममा दिइएको जानकारीअनुसार आइटेकअन्तर्गत सन् २००१ यता ८०० नेपालीले भाग लिइसकेका छन् ।

कार्यक्रममा भारतीय सांस्कृतिक केन्द्रले भरतनाट्यम र तवलाबादनसहित विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us