धानको उचित मूल्य नपाएपछि कृषक चिन्तित

काठमाण्डु टुडे २०७० पुष १० गते १६:२७ मा प्रकाशित

वीरगन्ज, १० पुस – तराई–मधेसका किसानलाई अहिले धान थन्काउने चटारो छ । गाउ“ले यतिबेला खेतबारीमा व्यस्त छन् । कतै जोतिरहेका भेटिन्छ, त कतै गोरु र ट्रयाक्टरले दाँइ हालिरहेका । तर कृषि उत्पादनका लागि प्रसिद्ध मानिएका बारा र पर्सा जिल्लाका किसान भने अहिले धान थन्काउनुभन्दा धानको उचित मूल्य नपाएपछि चिन्तित छन् ।

लामो खडेरी र पानीको अभावले गर्दा यसवर्ष धान उत्पादनमा कमी भएपछि दुःखी भएका किसान धानको उचित मूल्य नपाउ“दा झन् निराश भएका छन् । भारतीय धानसँग प्रतिस्पर्धा गर्न नसक्दा किसानहरू सस्तोमा धान बेच्न बाध्य भएका छन् ।

अहिले सोना मन्सुली धानको बजार मूल्य प्रतिक्विन्टल रु दुई हजारदेखि रु दुई हजार २०० सम्म रहेको छ । गतवर्ष यसको बिक्री मूल्य दुई हजार २०० देखि दुई हजार ४०० सम्म रहेको थियो । त्यसैगरी गत वर्ष यसै अवधिमा मसिनो कतरनी धानको मूल्य प्रतिक्विन्टल रु तीन हजारदेखि तीन हजार २०० सम्म रहेकोमा यस वर्ष रु तीन हजार २०० देखि तीन हजार ३०० सम्म रहेको छ ।
‘विगत एक महिनादेखि अत्यधिक रुपमा भारतीय धान नेपाल भित्रिरहेको छ’–पर्सा अमरपटीका किसान राधेश्याम चौरसियाले भने, ‘भारतीय धानको मूल्यमा प्रतिस्पर्धा गर्न नसकेका कारण नेपाली धानले उचित मूल्य पाउन नसकेको हो ।’

भारतबाट भित्रिएको धानका कारण मूल्य ह्वातै घटेको हो । भारतीय किसानले कृषिमा पाएको सरकारी सुविधा र सहयोगले नेपालको तुलनामा भारतमा कृषि उत्पादन लागत अत्यन्त कम हुने गरेको उल्लेख गर्दै उनले भने, ‘भारतसँग खुल्ला सीमा भएको पृष्ठभूमिमा नेपाली किसानको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि नेपाल सरकारले पनि सिँचाइ, मल, बीउबिजन, कृषि ऋणलगायतमा सहयोग र सहुलियत दिनुपर्छ ।’

कृषिका लागि चाहिने रासायनिक मल युरिया गत वर्ष प्रतिक्विन्टल रु एक हजार २०० मा खरिद गरेकामा यस वर्ष त्यही मल किसानले रु एक हजार ८०० मा खरिद गरेका छन् । त्यो पनि सहज र सरल रुपमा पाउन सकेका छैनन् ।

यसैगरी किसानले डिएपी मल प्रतिक्विन्टल चार हजार ५०० र पोटास तीन हजार १०० मा खरिद गरेका छन् । ‘यसरी एकातिर धानखेतीको लागत झन्डै दुई गुणाले वृद्धि भएको छ तर धानको बिक्री मूल्य भने घट्दै गएको छ’–पर्सा विजवनियाका किसान जयकिशोेर यादव भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us