नीलकण्ठ र रामशरणविरुद्ध लाजिम्पाटमा यस्तो उजुरी

काठमाण्डु टुडे २०७० पुष १२ गते १२:०० मा प्रकाशित

काठमाण्डु– एकीकृत माओवादीले ४ मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा संस्थागत, नीतिगत र प्रक्रियागत धाँधली भएको दाबी गर्दै आएको छ ।

निर्वाचन सकिएको केही दिनपछि बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले निर्वाचनमा भएको भनिएको धाँधली सम्बन्धमा जनस्तरमा भण्डाफोर गर्ने र आफूलाई मत दिने मतदातालाई धन्यवाद दिने भन्दै देशव्यापी रुपमा एक महिने अभियान सञ्चालन गर्‍यो ।

अभियानबाट काठमाण्डु फर्केपछि सबैले आ–आफ्ना क्षेत्रको रिपोर्ट पार्टी मुख्यालयमा बुझाएका छन् । यसै क्रममा केन्द्रीय सदस्यसमेत रहेका नुवाकोट–२ का उम्मेदवार हितबहादुर तामाङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष बुझाएको रिपोर्ट काठमाण्डु टुडेले फेला पारेको छ ।

रिपोर्टमा तामाङले आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामशरण महतदेखि प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, आयुक्त इला शर्मा र स्थानीय प्रहरी/प्रशासनसम्म आफूलाई हराउन लागिपरेको दाबी गरेका छन् । रिपोर्टमा उनले प्रतिस्पर्धी महतमाथि गम्भीर आरोप लगाएका छन् ।Mahat-Tamang-Upreti

तामाङले प्रचण्डलाई बुझाएको रिपोर्ट यस्तो छ :

संविधानसभाको दोस्रो निर्वाचनपछि मंसिर १० गते बसेको हाम्रो पार्टी एनेकपा (माओवादी) को केन्द्रीय समिति बैठकले गरेको निर्णय र निर्देशनअनुसार पार्टी कार्यकर्ता र मतदातालाई धन्यवाद ज्ञापन गर्न तथा निर्वाचनमा भएको धाँधली, षड्यन्त्र र चलखेलको भण्डाफोर एवम् तथ्य संकलन गर्ने एक महिने अभियान नुवाकोट जिल्लाको क्षेत्र नं. २ को २३ मध्ये २२ वटा गाविसमा सम्पन्न भयो ।

मंसिर १४ देखि पुस ६ गतेसम्म सञ्चालित अभियानमा प्राप्त रिपोर्ट र तथ्यअनुसार नुवाकोट जिल्लाको क्षेत्र नं.२ मा पनि संविधानसभा निर्वाचनमा परिवर्तनको बाहक हाम्रो पार्टी एनेकपा(माओवादी) लाई पराजित गर्न पहिचानविरोधी र यथास्थितिवादी एवम् प्रतिकृयावादी शक्ति केन्द्रहरु संस्थागत रुपले नै लागिपरेको देखिन आएको छ । उक्त धाँधली, षड्यन्त्र र चलखेलमा निर्वाचन आयोगले खुलेरै नेतृत्व गरेको तथ्यहरुले पुष्टि गरेको छ भने उक्त कार्यमा गृहप्रशासनले प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गरेको देखिन आएको छ ।

धाँधली, षड्यन्त्र र चलखेल

१. प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सर्वदलीय निर्वाचन स्थल निर्धारण समितिको बैठकले जिल्लाभरिकै  निर्वाचन स्थलहरु थप गर्नेबारे सिफारिस गर्ने क्रममा क्षेत्र नं.२ अन्र्तगतको खानीगाउँ गाविसको रतनदेउ, बेतिनी गाविसको अर्जुन प्रावि र चौघडा गाविसको ईन्द्रायणी निमाविमा मतदानस्थल थप गर्न सर्वसम्मत सिफारिस गरेकामा रतनदेउबाहेक अरु दुईवटा स्थल नेपाली काँग्रेसका उम्मेदवार रामशरण महतको मागअनुसार निर्वाचन आयोगले खारेज गर्‍यो । त्यसलगत्तै पूर्वनिर्णय र सहमतिअनुसार सबै मतदानस्थल कायम राख्न मैले आयोगमा दिएको निवेदनको बेवास्ता गरियो ।

२. गत जेठमै मेरो मतदाता नामावली ठीक छ छैन भनी निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा मेरो पिताको नाम सही पाइएकामा मनोनयन दर्ताका क्रममा निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणित गरेको नामावलीमा पिताको नाम बिगारेर मलाई उम्मेदवार बन्नबाट रोक्न निर्वाचन आयोग नै लागिपरेको देखियो ।

३. उम्मेदवारी दर्तापछि रामशरण महत र उनका कार्यकर्ताले झुठा ब्यहोरा उल्लेख गरी म र मेरो पार्टीविरुद्ध पटकपटक उजुरी दिई मेरो उम्मेदवारी खारेज गर्न दबाब दिएको र उक्त कार्यमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसमेत लागिपरेको खुल्न आएको छ । जुनकुरा उप्रेती स्वयम्ले टेलिफोन गरी मेरो उम्मेदवारी खारेज हुनसक्ने संकेत दिएको कुरा अध्यक्ष प्रचण्डले मलाई भन्नुभबाट पनि पुष्टि हुन्छ । जवकि आरोप लगाइएको जस्तो कुनै पनि घटना भएका थिएनन् ।

४.उम्मेदवारी दर्ता गरेको एक/डेढ हप्तामै क्षेत्र नं. २ अन्र्तगतको बेतिनी, गाउँखर्क, राउतबेसी र घ्याङफेदी गाविसलाई एनेकपा (माओवादी) को विशेष प्रभावित क्षेत्र ठानी स्थानीय प्रशासनले संवेदनशील क्षेत्र घोषणा गरेर हाम्रो पार्टीका कार्यकर्ता, समर्थक र मतदातालाई आतंकित पार्ने काम गरियो ।

५.कात्तिक २७ गते खरानीटारमा सम्पन्न चुनावी सभामा सहभागी भएर फर्कंदै गरेका कार्यकर्ता र जनतालाई लक्षित गरीे कांग्रेसको योजनामा तयार पारिएको विस्फोटक पदार्थ कांग्रेस कार्यकर्ता शिवराम गिरीको हातमा विस्फोट भयो । तर स्थानीय प्रशासनले त्यस सम्बन्धमा छानबिन नै गरेन ।

६.कात्तिक २ गते साँझ एनेकपा (माओवादी) का कार्यकर्ता मोहन लामिछानेको चौघडा गाविस वडा नं.३ मा रहेको घरमा र सोही दिन नर्जाको डोटेल बेसीमा र ३ गते साँझ कविलास गाविसको वडा नं. ५, वेशी कठेरीमा काँग्रेस उम्मेदवार महतकै योजनामा बम विस्फोट गराइयो ।  तर पीडित लामिछानेले हालसम्म क्षतिपूर्ति पाएका छैनन् ।

७.विश्वस्त स्रोतबाट प्राप्त सूचनाअनुसार प्रमुख निर्वाचन आयुक्त उप्रेती सुरुदेखि नै नुवाकोट–२ मा रामशरण महतलाई जसरी पनि जिताउने अभियानमा थिए । सोही योजना कार्यान्वयनका क्रममा आफू जान असमर्थ भएपछि उप्रेतीले मंसिर २ गते निर्वाचन आयुक्त इला शर्मालाई राज्यको खर्चमा हेलिकप्टर प्रयोग गरी क्षेत्र नं.२ अन्तर्गत खानीगाउँ गाविसको ढिकुरे बजार पठाए । शर्मा र महतबीच कांग्रेसका स्थानीय नेता ध्रुव श्रेष्ठको  खानीगाउँमा रहेको क्रसर उद्योगमा एक घण्टा वार्ता भएको कुरा विभिन्न सञ्चारमाध्यममा समेत आएको थियो । उनकै सल्लाहमा महतले ४ गतेको निर्वाचन स्थगन गर्न निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए । उक्त कुरा २ गते बेलुका ७:३० बजे म निर्वाचन अधिकृतको कार्यालय पुग्दा जानकारी प्राप्त भयो ।

८. आयुक्त इला शर्माले मंसिर २ गते दिउँसो करिब ३ बजेतिर मलाई टेलिफोनमा अपशब्द प्रयोग गरी नुवाकोटको क्षेत्र नम्बर दुईमा तपाइंले आतंकपूर्ण अवस्था सिर्जना गर्नुभएको रहेछ, यो स्थिति कायम रहेको खण्डमा उम्मेदवारी रद्द हुनसक्ने धम्की दिइन ।

९. रामशरणको भतिजा एवम् नेका जिल्ला सचिव रमेश महत जसलाई बहालवाला मन्त्रीलाई भन्दा धेरै महत्व दिई अत्याधुनिक हतियार एसयमजीसहितको सशस्त्र प्रहरी टोलीे खटाई पूरै निर्वाचन अवधिभर गाउ“गाउ“मा करोडौं पैसा वितरण गर्र्न सजिलो वातावरण बनाउने काम कसको आदेशमा भयो ।

१०.सदरमुकामस्थित मत संकलन केन्द्रमा पार्टी र उम्मेदवारको प्रतिनिधि बस्न नदिई नेपाली सेनाको मात्रै जिम्मामा मतपेटिकाहरु राख्ने व्यवस्था गरिएको थियो । जसले गर्दा रामशरण महतलाई जिताउन मत पेटिकाहरु साटफेर गर्न सजिलो भयो ।

११.आफूले हार्ने निश्चित भएपछि मंसिर ५ गते महतले क्षेत्र नं.२ अन्तर्गत लच्याङ गाविसको दूधेदेवी प्रावि मतदान स्थलको पुर्ननिर्वाचनको माग गरेको र पुर्ननिर्वाचन नभएसम्म मतगणना नगर्न निर्वाचन अधिकृतलाई निवेदन दिए ।

१२.क्षेत्र नं.१ मा धाँधली भएको भनी नेपाली काँग्रेसविरुद्ध राप्रपा उम्मेदवार प्रकाशचन्द्र लोहनीले र क्षेत्र नं.३ मा धाँधली भएको भनी काँग्रेसविरुद्व एमाले उम्मेदवार नारायणप्रसाद खतिवडाले र क्षेत्र नं.२ मा धाँधली भएको भनी एनेकपा (माओवादी) विरुद्व काँग्रेस उम्मेदवार महतले मतगणना नगर्न निवेदन दिएकामा लोहनी र खतिवडाले दिएको निवेदन निर्वाचन आयोगले ५ गते बेलुका नै खारेज गरी दुवै क्षेत्रको मतगणना गर्न आदेश दिएको थियो । तर महतलाई जिताउन सक्ने स्थिति नबनेको कारणले सोही प्रकृतिको निवेदन यथावत कायम राखियो ।

१३.मंसिर ५ गते बेलुका ९ बजेतिर क्षेत्र नं.२ को मतगणना राति १ बजेबाट सुरु हुँदैछ भन्ने चर्चा चल्यो । त्यससम्बन्धमा मैले जिल्ला निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईलाई टेलिफोन गरी सोध्दा उनले राति १ बजे बाट गणना सुरु गर्न लागिएको बताए । मैले १ बजेसम्म पर्खन पर्ने कारण नभएकाले ११ बजेभित्रै सुरु गरौं भनेको थिएँ । तर त्यसबारे कुनै सुनुवाई भएन । भोलिपल्ट बिहान ७ बजेतिर मैले फेरि निर्वाचन अधिकृतलाई फोन गरी मतगणना सुरु हुने समयबारे जानकारी लिन खोज्दा निर्वाचन आयोगबाट आदेश नआएकाले सुरु नगरिएको भन्ने जवाफ दिए । जवकि उनैले त्यसअघि रातको १ बजे सुरु गर्ने बताएका थिए ।

१४.क्षेत्र नं.१ मा काँग्रेसले धाँधली गरेको भनी राप्रपाका प्रकाशचन्द्र लोहनीले निवेदन र क्षेत्र नं.३ मा नेकाले धाँधली गरेको भनी एमालेका नारायण खतिवडाले दिएको निवेदन निर्वाचन आयोगले खारेज गरी राति नै मतगणना सुरु गर्दैछ भन्ने खबर आएपछि हाम्रो पार्टीका पूर्वमहासचिव तथा ३ नं.क्षेत्रका उम्मेदवार पोष्टबहादुर बोगटीले प्रमुख निर्वाचन आयुक्त उप्रेती र आयुक्त अयोधीप्रसाद यादवलाई फोन गरी तीनवटै क्षत्रको एकैसाथ मतगणना सुरु गराउन अन्यथा कुनै पनि क्षेत्रको नगर्न आग्रह गर्दा वास्ता गरिएन । ६ गते दिउँसो १२ बजेतिर मात्र क्षेत्र नं.२ को मतगणना सुरु गरी निर्वाचन आयोगले पक्षपातपूर्ण व्यवहार गर्‍यो ।

१५.मंसिर ६ गते बिहान करिब २ बजे नेपाली सेनाको गाडी क्षेत्र. नं. २ को मत संकलन केन्द्रमा शंकास्पद तरिकाले प्रवेश गरेको र त्यही समयमा मतपेटिका साटफेर गरेको धेरैले बुझेका छन् ।

१६.लच्याङ गाविसको वडा नं. ७ सेम्राङ, शिखरबेसी गाविसको बत्छला मावि, पञ्चकन्या गाविसको घलेभञ्ज्याङ, बागेश्वरी गाविसको सिम्ले, हल्देकालिका गाविसको जामुने, गणेशस्थान गाविसको पिप्लेलगायतका स्थानमा नेपाली काँग्रेसका कार्यकर्ताले हाम्रा कार्यकर्ताविरुद्ध हतियारसमेत प्रयोग गरी आक्रमण गरेको तर आक्रमणमा संलग्नलाई प्रशासनले कारबाही गरेन ।

१७.एनेकपा (माओवादी) का कार्यकर्ता र मतदाताहरुलाई अपरिचीत व्यक्तिहरुले विभिन्न फोन नम्बरहरु प्रयोग गरी कुट्ने, गोली हान्ने र ज्यान मार्नेसम्मका धम्की दिएका थिए ।

१८.एनेकपा (माओवादी) को भनेर चिनिने नेता कार्यकर्तालाई सामान्य भेटघाटमा हिंड्दासमेत नेकाका कार्यकर्ताबाट आक्रमण गर्ने धम्की दिए ।

१९.निर्वाचन अघिदेखि हालसम्म हाम्रा कयौं कार्यकर्तालाई बिनाकसुर गिरफ्तार गरी थुन्ने र हतोत्साहित गर्ने काम गरियो ।

१९.रामशरण महतले मतदान गर्ने मतदानस्थल राष्ट्रिय मावि कविलासमा काँग्रेस कार्यकर्ताले हाम्रा कार्यकर्तालाई हतियार देखाई आक्रमणको धम्की दिएको कतिपय हाम्रो पक्षका मतदातालाई घेराबन्दीमा पारी उनको पक्षमा मतदान गर्न विवस तुल्याएका थिए ।

२०.कविलास,चौघडा,खानीगाउ“,हल्लेकालिका र नर्जा लगायतका प्राय सवै गाविसहरुमा सोझा सिधा मतदाताहरुलाई खुलेआम रुपले पैसा दिई मतदानमा प्रभाव पारेको तथा उपस्थित नरहेका सयौं मतदाताको परिचयपत्र कब्जामा लिई नेपाली काँग्रेसका पक्षमा मत खसालेको ।

२१.उम्मेदवारी दर्तादेखि नै महतले आचारसंहिताविपरीत व्यापक भोजभतेर गरेका थिए । दर्जनौं गाडीहरु निर्वाचन क्षेत्रभर प्रयोग गरेका थिए । सयौं मोटरसाइकलहरु दिनदिनै चलाएको र सयौं भाडाका कार्यकर्ताहरु परिचालन गरेको एवं मतदाताहरुलाई प्रभावित पार्न पैसाको व्यापक  चलखेल गरेको हिसाबले करोडौं रकम खर्च गरी आचारसंहिता र स्वतन्त्र निर्वाचनको खिल्ली उडाउने काम गरे ।

२२.निर्वाचनपछि काँग्रेस कार्यकर्ताले हाम्रा कार्यकर्तालाई आक्रमण गर्ने तथा उल्टै हाम्रा कार्यकर्ताविरुद्ध प्रहरी प्रशासन लगाई दमन गर्न थालिएको छ ।

२३.नुवाकोटको विदुरस्थित मतपेटिका संकलन केन्द्रमा धा“धली भएको भनी पुस ५ गते बेलुका ९ बजे एबीसी टेलिभिजनले ‘मतपेटिका फेरफार’ नामक अप्रेशन बिग न्यूज कार्यक्रममा भिडियो प्रसारण गरेको छ । क्षेत्र नं.१ को लिखु गाविसको महेन्द्र मावि मतदान स्थलमा मतदान अधिकृत केशव तिमल्सिनाले धाँधली गरेकोबारे अडियो टेप सार्वजनिक भइसकेको र त्यसबारे छानबिन गर्न राप्रपा नेता प्रकाशचन्द्र लोहनीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us