पाँच सय र हजारका भारू नोट अब नेपालमा चल्ने

काठमाण्डु टुडे २०७० पुष ९ गते १०:२३ मा प्रकाशित

Indian-Currencyकाठमाण्डु, ९ पुस–तेह्र वर्षदेखि नेपालमा प्रतिबन्ध लगाइएको भारतीय पाँच सय र एक हजार रुपैयाँ दरको नोट अब चल्ने भएको छ। आइतबार सम्पन्न नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आइजिसी) बैठकमा यस्तो सहमति भएको हो।

प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म मात्र नेपाल ल्याउन पाइने सीमा भने तोकिएको छ।’पाँच सय र हजारका भारू नोट निश्चित सीमासम्म नेपालमा निर्वाध चलाउन दुवै पक्षबीच सहमति भएको छ,’ वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले भने, ‘भारू चलाउने संयन्त्रका लागि दुवै देशको सीमामा सटही काउन्टर राखिनेछ ।’

नेपालमा २०५७ सालदेखि यी दुई ठूला दरका भारू नोट चलाउन प्रतिबन्ध लगाइएको हो । भारतमा सन् २००० मा फोरेन एक्सचेन्ज म्यानेजमेन्ट (विदेशी मुद्रा विनिमय व्यवस्थापन) ऐन आएपछि नेपालमा ठूला दरका भारू चल्न छाडेको थियो । ऐन आउँदा भारतमा हजारका नोट चलनचल्तीमा थिएन ।

यो ऐनअन्तर्गत बनेका चार नियमावलीमध्ये एउटामा ‘नेपाल र भुटानमा पाँच सय रुपैयाँभन्दा ठूला नोट लैजान वा पठाउन प्रतिबन्ध गरिएको छ’ भन्ने वाक्यांश परेपछि ठूला दरका भारू नोटको कारोबार बन्द भएको हो । ठूला दरका नोट बढी तस्करी हुने भन्दै आन्तरिक सुरक्षाका लागि यस्तो प्रतिबन्ध लगाएको भारतीय पक्षको भनाइ थियो ।

भारतले प्रतिबन्ध लगाएपछि नेपालमा सय दरभन्दा कमका भारू नोट मात्र चल्दै आएको छ । यसले भारतमा काम गर्न गएका नेपालीका साथै भारतीय पर्यटकलाई पैसा ल्याउन कठिनाइ भइरहेको छ ।

यही समस्या हेरेर राष्ट्र बैंकले लामो समयदेखि ठूला दरका भारू नेपालमा चलाउन दिन भारतसँग आग्रह गर्दै आएको थियो । राष्ट्र बैंकले भारतीय राजदूत, भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) का गभर्नर, डेपुटी गभर्नरलाई समेत औपचारिक तथा अनौपचारिक रूपमा यस्तो आग्रह गरिसकेको छ । सरकारले पनि भारतीय विदेश मन्त्रालयका अधिकारीलाई उक्त प्रतिबन्ध हटाउन बारम्बार आग्रह गर्दै आएको थियो । यसपालि आइजिसी बैठकमा पनि राष्ट्र बैंकको आग्रहअनुसार वाणिज्य मन्त्रालयले भारूको मुद्दा उठाएको हो ।

‘अब पाँच सय र हजार दरका भारू नोट चल्ने भएपछि यसको व्यवस्थापन गर्न हामीलाई निकै सहज हुन्छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘साना दरका नोटको आधिकारिकता छुट्याउनभन्दा ठूला दरको छुट्याउन सजिलो हुन्छ ।’

भारतले नेपालमा पाँच सयमाथिका भारू लैजान नपाउने व्यवस्था गरेपछि राष्ट्र बैंकले पनि नेपालमा ठूला नोटको कारोबार नगर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले आफूले संकलन गरेका ठूला नोट रिजर्भ बैंक अफ इन्डियामा नसाटिने भएपछि नेपालभित्रको कारोबार अवैध भएको भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।

नेपालमा ठूला दरका भारू नोट अवैधानिक भए पनि चलचल्तीमा भने छँदैछ । सीमावर्ती सहरमा ठूला दरका भारू नोट चल्दै आएका छन् । भारतीय पर्यटक बढी आउने विराटनगर, वीरगन्ज, भैरहवाका साथै राजधानीका व्यापारिक स्थलमा भारू ५ सयमाथिका नोट चल्दै आएको छ । औपचारिक व्यापार तथा बैंकिङ प्रणालीमा नचल्ने भएकाले यसबाट भारतमा रहेका नेपाली कामदारलाई अप्ठेरो पर्ने गरेको छ ।

नेपालमा अवैध छ भन्ने थाहा नपाई पाँच सयभन्दा माथिका भारू नोट बोकेर आउने नेपाली (भारतमा काम गर्न गएका) अवैध भारू कारोबारको आरोपमा पक्राउ पर्दै आएका छन् । कतिपय नेपालीले सीमा क्षेत्रमा नोट साट्न बसेका दलाललाई प्रचलित विनिमय दर (भारू १०० बराबर नेपाली १६० रुपैयाँ) भन्दा कममा बिक्री गर्नुपर्ने बाध्यता पनि छ । – नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us