
काठमाण्डु, ९ पुस–सूचना तथा प्रविधिको क्षेत्रमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले काठमाण्डु विश्वविद्यालय काभ्रेमा पुस १२ देखि १४ गतेसम्म सूचना प्रविधि मेला हुने भएको छ । काठमाण्डु युनिभर्सिटी कम्प्युटर क्लबले मेला आयोजना गर्न लागेको हो ।
सूचना प्रविधिसँग सरोकार राख्न चाहने सबै वर्ग क्षेत्रलाई लक्षित गरी मेला आयोजना गरिने र त्यसमा आइटी क्विज, हाक–ए–थन, सफ्टवेर तथा हार्डवेयर प्रदर्शनी, गेमिङ, वेब डिजाइन तथा थ्रिडी मुभी प्रदर्शनी गरिने छ ।
क्लबका अध्यक्ष अजय थापाले मेलाबाट सर्वसाधारणसहित विद्यार्थीहरुले कम्प्युटर, सफ्टवेयरसम्बन्धी ज्ञान हासिल गर्न सक्ने विश्वास व्यक्त गरे । सो मेला सूचना प्रविधि विभाग तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रको सहयोगमा सञ्चालन हुन लागेको हो । त्यस प्रदर्शनीमा १५ हजार आगन्तुक आउने अपेक्षा गरिएको क्लबले जनाएको छ ।