
बागलुङ, ८ पुस–पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–बुर्तिवाङ खण्डको निर्माण कार्यले तीव्रता पाएको छ । राष्ट्रिय गौरवको आयोजनामा परेको सो सडकखण्डको विभिन्न भागमा स्तरीकरण र कालोपत्रेका लागि समेत काम अघि बढेको आयोजनाले जनाएको छ ।
सरकारले पनि प्राथमिकता प्राप्त योजनामा पारेर यसै वर्ष कालोपत्रेका लागि बजेट विनियोजन गरेपछि निर्माण कार्य धमाधम अघि बढेको हो । बागलुङ सदरमुकादेखि बुर्तिवाङसम्मको कुल ९० किलोमिटर सडकखण्डमध्ये घोडाबाँधेदेखि हटियासम्मको २० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भई काम अघि बढेको मध्यपहाडी लोकमार्गको बागलुङ खण्डका सिनियर डिभिजनल इन्जिनियर रोहित बिसुरालले जानकारी दिए ।
सो खण्डमा कालोपत्रे गर्न विभिन्न तीन कम्पनीले ठेक्का लिई काम अघि बढाएका छन् । अहिले उक्त खण्डमा सडक विस्तार, ढल निर्माण, ग्याविन जाली, कजवे निर्माणजस्ता कामहरू भइरहेका छन् । त्यस्तै बागलुङबजारदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडकको स्तरीकरणका लागि पनि ठेक्का सम्झौता भइसकेको जनाइएको छ । यो सडकखण्डको स्तरीकरण पनि दुई वर्षभित्र गरिसक्ने गरी निर्माण कम्पनीहरूसँग सम्झौता भएको आयोजनाले जनाएको छ ।
त्यस्तै बागलुङखण्डकै विभिन्न स्थानमा पक्की पुल निर्माणको काम पनि अघि बढेको छ । निर्माण कम्पनीले आगामी २०७१ साल जेठ महिनासम्म पुल निर्माणको कार्य सम्पन्न गर्ने जनाएको छ । त्यस्तै नरेठाँटीस्थित गौंदीखोलाको पुल पनि केही ढिलाइ भए पनि निर्माण कार्यले गति लिने इन्जिनियर बिसुरालले बताए ।
मध्यपहाडी लोकमार्गले देशमै सबैभन्दा बढी दूरी बागलुङमा ओगटेको छ । रासस