एमाओवादी केन्द्रिय कार्यालयलको बैठक

काठमाण्डु टुडे २०७० पुष ५ गते १०:३३ मा प्रकाशित

maoist flagकाठमाण्डु, ७ पुस – एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय र ब्यूरो इञ्चार्जहरुको संयुक्त बैठक बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा जारी बैठकमा समसामयिक राजनीति र भावी रणनीतिको विषयमा छलफल भइरहेको बुझिएको छ । एमाले नेताहरुसँगको छलफल पछि बैठक बसेको हो । बैठकमा एमाले नेताहरुले संविधानसभामा सहभागी हुन आग्रह गरेका थिए ।
यसपश्चात नेपाली काँग्रेसका नेताहरुसँग समेत छलफल हुने भनिएपनि समय भने तय भएको छैन ।
एकीकृत माओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई कायमै राख्ने, निर्वाचनको धाँधली छानबिन गर्न स्वतन्त्र आयोग बनाउने, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन तथा संविधान बनाउने क्रममा विगतका सहमतिहरुको स्वामित्व ग्रहण गरी आगामी दिनमा सहमतिकै आधारमा अघि बढ्नु पर्ने लगायतका मागमा सहमति भए संविधानसभामा जाने बताइसकेको छ ।
काँग्रेस–एमाले मागमा सकारात्मक रहेको भन्दै एकीकृत माओवादीले समानुपातिक सभासद चयनको गृहकार्य समेत सुरु गरेको स्रोतले जनाएको छ ।
यसअघि बिहान पार्टी अध्यक्ष प्रचण्ड निवासमै केन्द्रीय कार्यालयको बैठक बसेको थियो । बैठकमा आगामी दिनमा राष्ट्रिय राजनीतिमा पार्टीले खेल्ने भूमिका, आगामी केन्द्रीय समिति बैठकमा लैजाने एजेण्डा लगायत विषयमा छलफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us