नयाँ वर्ष मनाउन पोखरामा पर्यटकलाई आमन्त्रण

काठमाण्डु टुडे २०७० पुष ६ गते २:५६ मा प्रकाशित

pokhara cityकाठमाण्डु, ६ पुस–पोखरा भन्नासाथ माछापुच्छ्रेको छाँया फेवातालमा पौडिरेहको दृश्यको सम्झना हुन्छ । अनि  उत्तरतर्फ लहरै फैलिएका धौलागिरि, माछापुच्छ्रे अन्नपूर्णसहितका हिमश्रृङखला, फेवा बेगनास, रुपालगायतका सात ताल, डेभिज फल्स, गुफाहरु र रमणीय पहाडी उपत्यकामा फैलिएको प्राकृतिक मनोरम दृश्यले पोखरलाई विश्वकै उत्कृष्ट पर्यटकीय नगरीका रुपमा चिनाएको छ ।
पोखरेली पर्यटन व्यवसायीले अंग्रेजी नयाँ वर्ष तथा क्रिसमसमा घुम्न रमाउन चाहने स्वदेशी विदेशी पर्यटकलाई त्यहाँ भित्रयाउन डेढ दशकदेखि फेवातालको किनारमा सडक महोत्सव गर्दै आएका छन् ।
समृद्व सांस्कृतिक जनजीवन, तालतलैया, हिमाल र मनोरम उपत्यकाको प्राकृतिक दृश्यावलोकनका लागि नयाँ वर्ष  र क्रिसमस जस्ता चाडको उमङगमा रमाउन चाहने पर्यटकको महोत्सवमा बर्सेनि भीड बढ्दै गएको छ ।
यो समयमा नेपालीहरु विदेश जाने र विदेशी पनि भारतको गोवा, थाइल्यान्ड वा अन्य देशमा जाने प्रवृत्ति भएकोमा ती पर्यटकलाई आकर्षित गर्ने गरी पोखराको प्राकृतिक सौन्दर्यको अवलोकन गर्न उत्कृष्ट गन्तव्यका रुपमा सडक महोत्सव गरिँदै आएको हो ।
“झण्डै १५ वर्षको पोखरेली सडक महोत्सवले विगत केही वर्षयता विदेशी मात्र होइन अत्यधिकरुपमा स्वदेशी पर्यटकसमेत क्रिसमस र अंग्रेजी नयाँ वर्षमा पोखरा ओइरिन थालेका छन्, कम्तीमा वर्षको एकपटक पोखरा जाने क्यालेण्डर बनेको छ,” रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल रेवान पोखरा शाखाका अध्यक्ष गोपीनाथ भट्टराई भन्छन ।
गतवर्ष चार लाख जनाले महोत्सव अवलोकन गरेको महोसत्व आयोजक मूल समितिका संयोजक बलराम पहारी बताउछन । पुस  १३ देखि १७ गतेसम्म महोत्सव हुन्छ ।
महोत्सवको मूल आकर्षण भनेको फेवाताल किनारको शहिदचोकदेखि खहरे डिहिको पाटनसम्मको करिव साँढे तीन किलोमिटर क्षेत्रमा सडकमै रेष्टुरेण्ट राखिनु हो । खेलकुद, नाच, वृत्तचित्र, डुंगा सयर, दोहोरी गीत, कन्सर्टसहितका परम्परागत आधुनिक सांस्कृतिक मनोरञ्जनका कार्यक्रम पनि गरिन्छ ।
प्याराग्लाइडिङ, अल्ट्रा लाइट र जीपफलयार जस्ता साहसिक उडानहरु हुन्छन् । “दिउँसो माछापुच्छे« हिमाल र राति लेकसाइड क्षेत्रको झिलिमिली बत्तीको छाँया फेवातालमा परेको अनुपम दृश्यले पोखरा पुग्ने जोकोहीलाई मोहित बनाउँछ,” संयोजक पहारी थप्छन ।
महोत्सवका बेला फेवा, वेगनास  र रुपालगायतका तालमा डुंगा सयर गरेर रमाउने मात्र हैन सराङकोट, धम्पुस र शान्तिस्तुप लगायतका पोखरा वरपरका डाँडाकाँडा उक्लँदै पदयात्रा गरेर समय व्यतित गर्न चाहनेहरु पनि थुप्रै हुन्छन् ।
अर्कातिर महेन्द्र, चमेरे र गुप्तेश्वर गुफाको अवलोकन तथा पोखराको बीचभागबाट जमिनभित्र बाहिर लुकामारी खेल्दै बगेको सेती नदीको आकर्षणले भ्रमणको अवधिलाई रमाइलो बनाउँछ । जनजीवन र विविध जातजातिको संस्कृति पनि यहाँको जीवनशैलीको अर्को आकर्षक पक्ष हो ।
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सिसी क्यामरा जडन गर्ने, उक्त क्षेत्रमा सोलार बत्ती राख्ने र अझै पर्यटकीय आकर्षण बढाउने सोच रहेको रेवान पोखराका अध्यक्ष गोपीनाथ भट्टराई थप्छन ।
“स्वदेशी विदेशी गरेर झण्डै आठ लाख पर्यटक बर्सेनि भित्रिन्छन्, यहाँ अचेल अफ सिजन भन्ने छैन तर एक दुई महिना लो सिजन छ,” क्षेत्रीय होटल सङ्घ पोखराका पूर्व अध्यक्ष विप्लव पौडेल भन्छन । पौडेलका अनुसार पोखरामा सानाठूला ४५० होटल र तीनमा करिब १५ हजार शैया छन् ।
सौराहा, लुम्विनी र पोखरालाई त्रिकोणात्मक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने सोचमा व्यवसायीहरु छन् । खासगरी क्रिमसम र अंग्रेजी नयाँ वर्षमा नेपालमा रहेका कुटनीतिक तथा अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने विदेशीहरु मात्र नभई अत्यधिक रुपमा स्वदेशीहरु महोत्सवमा आउँछन् । पारिवारिक र समूहमा जाने स्वदेशी बढेका छन् ।
“अर्को वर्ष महोत्सवकै अवसर पारेर विभिन्न देशका संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम गर्ने सोच छ,” अध्यक्ष भट्टराई थप्छन ।
महोत्सवबारे भारतका सीमा नजिकका सहर र नेपालका पनि मुख्य सहरहरुमा प्रचारात्मक कार्यक्रम गरिँदै आएको छ । सडकमै खाऔँ, सडकमै नाचाैँ र सडकमै रमाऔँ भन्ने नारासाथ गरिने यो महोत्सवमा यसपटक खाना, मनोरञ्जन  र सङ्गीतको नारा दिइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us