बर्ड फ्लू मानवमा सरेको चीनद्वारा पुष्टि

काठमाण्डु टुडे २०७० पुष ३ गते ९:१५ मा प्रकाशित

साङ्घाइ, ३ पुस– चीनले बर्ड फ्लू मानवमा सरेको पुष्टि गरेको छ ।

साङ्घाइको एक अस्पतालमा एकजना ७३ वर्षीयाको सोही संक्रमणबाट निधन भएपछि त्यसको पुष्टि भएको हो ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले चीनमा संक्रमण रहेको बर्ड फ्लूको कारण ती महिलाको निधन भएको बताएका छन् । तर स्वास्थ्य क्षेत्रका विज्ञहरुले सो संक्रमणको मात्रा भने निकै नै कम गतिमा रहेको पाइएको पनि स्पष्ट गरेका छन् ।

उनीहरुका अनुसार मानवमा यसको संक्रमण सरेको स्पष्ट भएको छ तर यसको संक्रमण दर भने निकै नै कम छ । ती महिलाको मृत्यु बर्ड फ्लूसँग सम्बन्धित एउटा यस्तो किटाणुका कारण भएको छ त्यस्तो किटाणु यसअघि कहिल्यै पनि देखिएको थिएन ।

चीनमा यसअघि नै बर्ड फ्लूको संक्रमण देखिएको र मानवमा पनि सरेको थियो । तर पनि यो पछिल्लो किटाणु भने यसअघि नपाइएको ती अधिकारीहरुले दिएका छन् । चीनका विभिन्न क्षेत्रमा एच७एन९ नामको बर्ड फ्लूको किटाणु देखिएको हो ।

सो किटाणुको संक्रमण करिब १३९ जनामा फैलिएको पनि समाचारमा जनाइएको छ । त्यसैगरी सो संक्रमणका कारण ४५ जनाको ज्यान गइसकेको अधिकारीहरुले जनाएका छन् । साथै यसको संक्रमण हङकङ र ताइवानमा पनि पाइएको छ ।

रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us