
काठमाण्डु, ३ पुस–नेपाल पोलियो शून्य प्रमाणीकरण हुने अवस्थामा रहेको छ । दक्षिण पूर्वी एसियाली देशहरूमध्ये नेपाल पनि पोलियो शून्य देशका रूपमा ऐतिहासिक सफलता प्राप्त गर्न लागेको हो ।
नेपालमा पोलियाका रोगीहरू देखा नपरेको तीन वर्ष बितिसकेको छ । लगातार तीन वर्षभन्दा बढी पोलियो रोगी देखा नपरेमा विश्व स्वास्थ्य संगठनले पोलियो शून्य देशका रूपमा प्रमाणित गर्ने गर्दछ । संगठनले नेपालसहित दक्षिण पूर्वी एसियाली देशहरूलाई सन् २०१४ को फेब्रुअरीमा यो घोषणा गर्न लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बालस्वास्थ्य महाशाखाका प्रमुख डा. सेनेन्द्रराज उप्रेतीले भने, ‘नेपालमा तीन वर्षयता पोलियोका रोगीहरू देखापरेका छैनन्, अब हामी पोलियो शून्य प्रमाणीकरण हुने अवस्थामा पुगेका छौं ।’
सन् १९९९ देखि २०१० सम्ममा ३४ वटा पोलियोका बिरामी देखापरेका थिए । राष्ट्रिय खोप अभियान, नियमित खोपको उच्च कभरेज, गुणस्तरीय निगरानी, उच्च जोखिम क्षेत्रमा अनुगमन लगायतका कारणले सन् २०१० पछि पोलियोका बिरामी देखा नपरेको महाशाखाको ठम्याइ छ ।
विश्व स्वास्थ्य संगठनको सन् १९८८ मा सम्पन्न साधारणसभाले विश्वबाट पोलियो उन्मूलन गर्ने पारित गरेको थियो । त्यस समयमा विश्वका १२५ देशमा पोलियो संक्रमण भइरहेको थियो । अहिले पनि पाकिस्तान, अफगानिस्तान र नाइजेरियामा पोलियोको रोगी रहेका छन् ।
नेपाललाई पोलियो शून्य बनाउने अभियानअन्तर्गत मन्त्रालयले विभिन्न चरणमा पोलियो खोप अभियान सञ्चालन गर्न लागेको छ । अभियानअन्तर्गत पहिलो चरणमा ६८ जिल्लाका जन्मेदेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई यही पुस ६ र ७ गते शनिवार र आइतबार तथा दोस्रो चरणमा माघ ११ र १२ गते शनिबार र आइतबार पोलियो खोप लगाइनेछ ।
हिमाली सात जिल्लामा भने चैत ८ र ९ गते शनिबार र आइतबार तथा २०७१ वैशाख पत्रकार १३ र १४ गते शनिबार र आइतबार खोप अभियान सञ्चालन गर्न लागिएको महाशाखा प्रमुख डा. उप्रेतीले जानकारी दिए ।
ती दिनमा सञ्चालन हुने खोप अभियानमा पाँच वर्षमुनिका ४२ लाख २६ हजार ९९६ बालबालिकालाई समेटिनेछ । सबै गाउँ विकास समिति कम्तीमा एउटा तथा नगरपालिकाका प्रत्येक वडामा कम्तीमा दुईवटा खोप केन्द्र सञ्चालन गरिनेछ । यसरी ४० हजार ४४७ खोप केन्द्रमा ८१ हजार स्वयम्सेवक र १२ हजार अनुगमन परिचालन हुनेछन् ।
महाशाखा प्रमुख उप्रेतीले भने, ‘यसपटक घुम्ती सेवा सञ्चालन गरी अस्थायी बसोबास गरिराखेका स्थान, समुदाय, विभिन्न धर्म सम्प्रदायका आस्थाका स्थल, कार्यस्थलमा गई बालबालिकालाई खोप दिनेछौं ।’
पोलियो अभियान सञ्चालनमा २९ करोड रुपैयाँ खर्च लाग्नेछ । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विद्याधर मल्लिकले खोप अभियानलाई सफल बनाउन सबैसँग आग्रह गर्नुभयो । रासस