‘चीसोको क्षति कम गर्न पूर्वतयारी’

काठमाण्डु टुडे २०७० पुष ३ गते ४:४७ मा प्रकाशित

चीसो र शीतलहरका कारण मानिसहरुको ज्यान जानसक्ने घटना कम गर्न पूर्व तयारी थालिसकिएको सरकारले जनाएको छ।

पछिल्ला केही दिन देशभर तापक्रममा गिरावट देखिन थालेका बेला गृहमन्त्रालयमातहतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको उक्त भनाइ आएको हो।

मौसम पूर्वानुमान महाशाखाले तापक्रममा गिरावट आउने क्रम अबका केही दिनमा तीव्र बन्ने बताएको छ।

चीसोको प्रभाव देखिन थालिसकेको तराई क्षेत्रमा एकसातापछि शीतलहर शुरु हुने अनुमान पनि महाशाखाले गरेको छ।

महाशाखाकी मौसमविद् शान्ति कंडेलका अनुसार खासगरी उच्च हिमाली र तराईका क्षेत्रहरु यसबाट बढी प्रभावित हुनेछन्।

उनले भनिन् ,”अबको एकसातापछि तराईमा शीतलहर शुरु हुने सम्भावना छ। उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना छ।”

यस्तै सम्भावनालाई लक्षित गरी तयारी थाल्न सम्बन्धित स्थानीय निकायहरुलाई गत महिना नै निर्देशन दिइसकेको गृहमन्त्रालयले जनाएको छ।

हरेक वर्ष जसो शीतलहर र चीसोका कारण मानिसहरुको ज्यान जाने घटना हुने गरेकाले त्यसलाई रोक्न विभिन्न व्यवस्थापकीय र स्वास्थ्यसम्बन्धी तयारी गरिएको गृहमातहतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख लक्ष्मी ढकाल भन्छन्,“विपन्न वर्गलाई लक्षित गरी न्यानो कपडा र दाउरा दिन तथा चीसोका कारण बिरामी परेकाहरुको शीघ्र उपचार गर्न निर्देशन दिइसकेका छौं।”

यस्ता तयारीका कुरा सरकारी निकायबाट हुने गरेपनि समयमै लक्षित वर्गसम्म राहतहरु नपुग्दा वर्षेनि मानिसहरुको ज्यान जाने क्रम रोकिन नसकेको भन्दै पटकपटक सरकारको आलोचना हुने गरेको छ। BBC Nepali service

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us