
प्यूठान, ३ पुस–मुलुकभरका बिजुली प्रयोग गर्ने उपभोक्ता विद्युत्भार कटौतीको चर्को मार खेपिरहेका बेला प्यूठान स्याउलीवाङका गाउँवासीलाई भने त्यसको कुनै पर्वाह छैन । न त उनीहरुलाई विद्युत्भार कटौतीको तालिका अनिवार्य छ न त चर्को महसुल तिर्नुपर्ने झन्झट । घरनजिकैको खोल्सामा बग्ने पानीबाट गाउँमै विद्युत् निकालेर जिल्लाको सबैभन्दा बिकट मानिने स्याउलीवाङका उनीहरु चौबिसै घण्टा विद्युत्को झिलिमिलीमा बस्दै रमाएका छन् ।
प्यूठान सदरमुकाम खलङ्गाबाट १७ कोष टाढा रहेको यो गाविस जिल्लाको अति दुर्गम र विकट गाविसको रुपमा रहे पनि उनीहरुले गाविसभर विद्युत् बालेर जिल्लामै नमुना गाउँ बनाउन सफल भएका छन् । जिल्ला विकास समिति ऊर्जा तथा वातावरण इकाई र वैकल्पिक ऊर्जाको सहयोगमा यो गाविसमा विभिन्न तीनवटा आयोजनाबाट ४२ किलोवाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ । ग्रामीण ऊर्जा विकास कार्यक्रममार्फत जिविसमार्फत गाउँमा काम थालेका स्थानीयले पहिलोपटक एक दशकपहिले गाउँमै बिजुली बाल्ने रहर उनीहरुले पूरा गरेका हुन् ।
गाउँमा विद्युत् निकालेपछि यहाँका स्थानीय, वृद्धवृद्धा र स्कुले विद्यार्थीहरुलाई पढाइलेखाइमा निकै सहज भएको उनीहरु बताउँछन् । जिविस ऊर्जा तथा वातावरण इकाईका अनुसार पँधेराकोट खोलाबाट १६ किलोवाट विद्युत् उत्पादन भइरहेको छ । २०५९ साल वैशाखमा सम्पन्न यस आयोजनाबाट वडा नं ४, ५, ६ र ७ का १९० घरधुरी बिजुली बत्तीको सुविधा पाएका छन् । २०६२ सालमा निर्माण सम्पन्न भएको १८ किलोवाट क्षमताको सरिमाखोला लघुजलविद्युत् परियोजनाबाट वडा नं १, २, ३ का २११ घर लाभान्वित छन् ।
यस्तै वडा नं. ७, ८ र ९ का ८८ घरधुरीले खारखोला लघुजलविद्युत् परियोजनाबाट आठ किलोवाट विद्युत् निकालेका छन् । २०६१ सालमा सम्पन्न भएको यो आयोजना बर्सातका कारण बाढीले केही समयदेखि विद्युत् उत्पादन बन्द भए पनि मर्मतका लागि दुई लाख रुपैयाँ निकासा भई काम सञ्चालन भइरहेको जिविस ऊर्जा तथा वातावरण अधिकृृत सुरेन्द्र रायले जानकारी दिए । लघुविद्युत्बाट ४८९ घरधुरीले नियमित विद्युत् बालिरहेको उनले बताए ।
आयोजनाबाट वञ्चित भएकाहरुलाई साना घरेलु सौर्य ऊर्जा, जिविस ऊर्जा इकाई, उपभोक्ताबाट केही सङ्कलित रकम र नेपाल सरकारको अनुदानमा ८८ घरमा सौर्य ऊर्जा जडान गरिएको छ । योसहित हाल ५७८ घरधुरीमा लघु र सौर्यबाट गाविसभर विद्युत् सुविधा विस्तार भएको छ । अहिले गाविसको केही बाहेक यहाँका सबै घरधुरीमा बिजुली बल्ने गरेको छ ।
गाविसलाई अँध्यारोमुक्त गाविस घोषणाका लागि तयारी भइरहेको जनाउँदै ऊर्जा अधिकृत रायले बाँकी रहेका घरमा पनि सोलार सिस्टम जडानका लागि तयारी भइरहेको बताउनहुन्छ । २०६८ सालको जनगणनाअनुसार ६३६ घरधुरी रहेको स्याउलीवाङमा एक हजार ७० जनाको बसोबास छ ।