के अरविन्द केजरीवाल ‘भारतीय सपना’ बन्न सक्छन् ?

काठमाण्डु टुडे २०७० मंसिर २९ गते ९:४९ मा प्रकाशित

काठमाण्डु,मंसिर -यसै साता भारतका पाँच राज्य – दिल्ली, राजस्थान, मध्यप्रदेश, छत्तीसगढ तथा मिजोरममा राज्यस्तरीय संसद विधानसभाको निर्वाचन सम्पन्न भएको छ र राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भारतीय जनता पार्टी (बीजेपी) को नेतृत्वमा सरकार बनेका छन् ।

मिजोरममा कङ्ग्रेस पार्टीले पुनः शासन प्राप्त गरेको छ भने दिल्लीमा बीजेपी सबैभन्दा ठूलो दलको रूपमा स्थापना भए पनि नयाँ दल ‘आम आदमी पार्टी’ (आप) दोस्रो सबैभन्दा ठूलो दलको रूपमा देखापरेको छ । यस निर्वाचनले आपका नेता अरविन्द केजरीवाललाई सक्षम राजनीतिक खेलाडीको रूपमा स्थापना गरिदिएको छ र अव प्रश्न उठेको छ – के केजरीवाल भारतीय सपना बन्नसक्छन् ?kejriwal

एक्काइसौँ शताब्दीमा विश्वको सबैभन्दा ठूलो प्रजातन्त्र भारत राष्ट्र समग्रको सपना लगभग निश्चित छ । विश्वको दोस्रो सबैभन्दा बढी जनसङ्ख्याको मुलुक उदाउँदो छ र धेरै क्षेत्रमा ‘मेरो भारत महान’ का नारा धेरै हदसम्म सही देखिन थालेको छ । त्यसो त भारतसमक्ष आदर्श व्यक्तित्वको कमी छैन र महात्मा गान्धी स्वयम् त्यसको उदाहरण छन् तर एक अर्ब २१ करोड जनता तथा परी, राजामहाराजा र राजकुमारको कथाहरूबीच एउटा सामान्य भारतीय नागरिकका लागि उसको सपना के हो त ? एउटा जटिल प्रश्न उभिएको छ ।

‘अमेरिकी सपना’ ले प्रत्येक नागरिकलाई समान अवसर तथा कडा मेहनतबाट समृद्धि प्राप्त गर्ने अवसरको बचन दिन्छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा आफैँ पनि अमेरिकी सपनाको प्रतीक बनेका छन । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनका लागि सपना बुनेका छन र सबै चिनियाँ जनतालाई सपना देख्न र त्यसलाई प्राप्त गर्न लगनशीलताका साथ प्रयास गर्न आग्रह गरेका छन ।

कतार तथा न्यु जिल्यान्ड जस्ता मुलुक तथा हालै भानुआतुले पनि आफ्नो सपना देखेको द वाल स्ट्रिट जर्नलको भारतीय अनलाइन संसकरणमा ‘कुड वी ह्याव एन इन्डियन ड्रिम’ (के हामी भारतीय सपना देख्न सक्छौ) शीर्षकमा रजनी ऐयर मोहन्तीले लेखेका छन । सफलता तथा समृद्धिको पछाडि पूर्वजन्मको फल, भाग्यवाद तथा वंशपरम्पराको सम्बन्ध देख्न चाहने पूर्वीय संस्कृतिको धरोहर भारतीय मनस्थितिमा कुनै समयमा सपना देख्नु वर्जित मानिन्थ्यो ।

बीबीसीको अनलाइन संस्करणमा ‘द इन्डियन ड्रिम’ नामक पेज तयार भएको छ र यसमा विदेशमा बसोबास गरिरहेका भारतीयलाई भारतले आकर्षिण गर्न थालेको, विश्वका ठूला खेल संस्थाहरूले भारतको बजारको अंश खोज्न थालेको, विदेशमा हुर्केका र पढेका शीपयुक्त भारतीय युवाहरूले भारतमै अवसरको खोजी गर्न थालेको, विदेशी गायक तथा कलाकारले भारतमा ख्याति प्राप्त गर्न खोजेको, पश्चिमेली ‘सेफ’हरूले भारतीय जिब्रो तान्न प्रयास गरेको, पश्चिमेली युवाले भारतमा अवसरको खोजी गर्न थालेको तथा अमेरिकी सिलिकन भ्याली छोडेर अमेरिकी प्राविधिकहरू भारतमा अवसरको खोजी गर्न थालेको समाचार, अनुभव तथा लेखहरू राखिएका छन् । ‘इन्डिया भिजन २०२०’ र ‘इन्क्रेडिबल इन्डिया’ का नारा भारतीय आमसञ्चारमा सामान्य बनेका छन् ।
‘भारतीय सपना’ कस्तो हुनुपर्छ त भन्ने कुरा पनि निक्र्यौल हुनुपर्छ ।

मोहन्तीले भारतीय सपना, एकल, सामाजिक तथा शङ्क्षिप्त हुनुपर्ने र त्यो अर्थपूर्ण, सम्झना गर्न लायक तथा अभिप्रेरक हुनुपर्ने धारणा राखेका छन । उनका अनुसार कुनै पनि राष्ट्रिय सपना मूल रूपमा समानतामा आधारित हुनुपर्छ र यस्तो समानता लिङ्ग, उमेर, आर्थिक बर्ग, सामाजिक जात तथा पेशाको अर्थमा समान हुनुपर्छ । सपना आफैँमा सकारात्मक हुनुपर्छ, सम्पूर्ण राष्ट्रलाई समावेश गर्ने हुनुपर्छ र सबै वर्गका जनतालाई समेट्ने हुनुपर्छ । त्यो समावेशी हुनुपर्छ र नयाँ विचारलाई समर्थन गर्ने खालको हुनुपर्छ । यस्तो सपना प्राप्त गर्न र जनतालाई यस्तो सपना देख्न अभिप्रेरित गर्न प्रणालीमा सुधार गर्नुपर्छ ।

भारतमा बहुसङ्ख्यकले खाना, आवास, स्वास्थ्य सेवा, शिक्षा, रोजगारी तथा कानुनमा समान पहुँच प्राप्त नगरेको र व्यापक भ्रष्टाचारले सामान्य सामाजिक सपनालाई नै प्राप्त गर्न नसक्ने बनाएको अवस्थामा ‘भारतीय सपना’को खोजीनै निकै कठिन हुने मोहन्तीको धारणा छ । अर्कोतिर यसपटक दिल्लीको विधानसभा निर्वाचनमा अरविन्द केजरीवालले यी सबै बाधा तोडेर आफूलाई सफल बनाएको देखाएका छन् ।

दिल्ली विधानसभाको निर्वाचनमा केजरीवालले तीनपटक मुख्यमन्त्री भई १५ वर्षसम्म शासन सञ्चालन गरेकी शीला दीक्षितलाई पराजित गरिदिए, जसलाई मतगणना अगाडि राजनीतिक विश्लेषकहरूले समेत असम्भव ठानेका थिए । त्यसो त अन्ना हजारेका लागि जनलोकपाल विधेयक तयार गरी आन्दोलनमा लाग्दा धेरै राजनीतिज्ञहरूले केजरीवाल राजनीतिमा आउनसक्दैनन् र आए पनि भारतीय राजनीतिमा सफल हुनसक्दैनन् भनी निर्वाचनमा लड्न चुनौती दिएका थिए ।

अन्ना हजारेको निरन्तर बनेको भ्रष्टाचारविरुद्ध भारत आन्दोलन तथा अनसनले सरकारलाई जनलोकपाल विधेयक पारित गराउन वाध्य पार्न नसकेपछि, बाबा रामदेवको प्रयासलाई सरकारले नराम्रोसँग नियन्त्रण गरेपछि र स्वयम् केजरीवालको प्रयासले पनि कुनै सफलता नदिएपछि यस विषयलाई राजनीतिक रूपमा अगाडि बढाउनुपर्छ भन्ने विषयमा हजारे तथा केजरीवालबीच मतभिन्नता देखिएपछि केजरीवालले आम आदमी पार्टी (आप) २०१२ को नोभेम्बर २६ मा अगाडि बढाएका हुन । हजारे तथा भष्टाचारविरुद्ध भारत आन्दोलनका अर्का सहयोगी किरण वेदी तथा सन्तोष हेगडे राजनीतिक दलमा आफ्नो संलग्नता स्वीकार गर्दैन थिए भने प्रशान्त भूषण तथा शान्ति भूषण भने केजरीवालको पक्षमा देखा परेका थिए ।

सन् १९६८ को अगस्त १६ मा हरयाणामा जन्मिएका र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी खडगपुरबाट मेकानिकल इन्जिनियरिङमा स्नातक केजरीवालले सन् २०१३ को दिल्लीको विधानसभामा भएको निर्वाचनमा आपलाई दोस्रो ठूलो दलको रूपमा स्थापना गरिदिए । निर्वाचनका समयमा काङ्ग्रेस पार्टी तथा बीजेपी दुबैले आपलाई खासै महत्व दिएका थिएनन भने केही अभिमत सर्वेक्षणले आपले ७० स्थानको विधानसभामा बढीमा छ स्थान प्राप्त गर्ने अनुमान गरेका गरेका थिए । सम्मानित भारतीय राजश्व सेवाका पूर्व अधिकारी केजरीवाल भने यस निर्वाचनमा निर्वाचन चिन्ह कुचो, गान्धी टोपी तथा आधुनिक व्यवस्थापनका सिद्धान्तलाई सफल प्रयोग गरी आफ्ना दललाई २८ स्थान प्राप्त गर्न सफल भए । निर्वाचनमा आपका नयाँ अनुहारले निकै स्थापित नेताहरूलाई पराजित गरिदिए ।

स्थापनापछिको समयमा आपले जनताको पक्षमा अनेकौँ विरोध प्रदर्शन आरम्भ गरेको थियो । विरोध प्रदर्शनमा सरकार तथा निजी कम्पनीहरूबीच भ्रष्टाचारका लागि बनेको गठबन्धन उदाङ्गो पार्ने, पानी तथा विद्युतको महसुल वृद्धि रोक्ने, यौनजन्य दुव्र्यवहारका पीडितलाई न्याय दिने तथा बलात्कार विरुद्ध कडा कानुन बनाउने जस्ता विषयमा आपले सशक्त भूमिका खेलेको थियो ।

आयकर विभागमा पूर्व सहआयुक्त केजरीवाले जनलोकपाल विधेयक तयार गर्न गरेको परिश्रम तथा सूचनाको अधिकारको विधेयक तयार गर्न र कानुन बनेपछि त्यसलाई कार्यान्वयन गर्न देखाएको सक्रियताका कारण आमजनतामा उनीप्रतिको समर्थन बढी नै थियो । सूचनाको अधिकार ऐन लागु गर्न तथा गरिब भारतीय जनतालाई सशक्त बनाउन खेलेको भूमिकाका लागि केजरीवाले रामोन म्यागासेसे पुरस्कार समेत प्राप्त गरेका थिए । सन् २००६ मा केजरीवालले भारतीय राजश्व सेवाबाट राजिनामा दिएर म्यागासेसे पुरस्कारको रकमबाट सार्वजनिक भलाइका लागि अनुसन्धान संस्था ‘पब्लिक कज रिसर्च फाउन्डेसन’ स्थापना गरी कार्य आरम्भ गरेका थिए ।

दिल्लीमा राम्रो स्थान प्राप्त गरेपछि केजरीवालको दृष्टि अब सन् २०१४ मा हुने लोकसभाको निर्वाचनमा परेको छ र आप यसका लागि निकै उत्साहित भएको छ । कङ्ग्रेस पार्टीका उपाध्यक्ष राहुल गान्धीले समेत आपले अपरम्परागत रूपमा जनतालाई निर्वाचनमा संलग्न गराएको र आफूहरूले यसबाट सिक्ने बताएका छन ।

आइबीएन लाइभको ब्लगमा प्रदीप सरदेसाइले अरविन्द केजरीवालबाट उपाध्यक्ष गान्धीले सिक्नसक्ने कुराका विषयमा उल्लेख गरेका छन । र तिनीहरूलाई बुँदाकै रूपमा टिपोट गरेका छन । सरदेसाइले अरविन्द केजरीवालको जोखिम र चुनौती लिने चाहना (सम्मानित नोकरी छोडेर समाज सेवामा प्रवेश), आमसञ्चारको क्षमताको प्रयोग (ब्लग, फेसबुक, ट्विटर, युटुब, वेबपेजको प्रयोग), परिवर्तनको स्पष्ट अवधारणा (समान, समावेशी तथा भ्रष्टाचारविहीन भारत), स्पष्ट पहिचान गर्न सकिने ब्रान्ड तथा त्यसको प्रतिस्पर्धात्मक क्षमता (गान्धी टोपी तथा कुचो), आमसम्पर्क कार्यक्रम (सडक धर्ना, विद्युतको बिल, पानी आदिमा जनतासँग सम्पर्क तथा गरिब बस्तीबीच सम्बन्ध) तथा नयाँ अनुहारको राजनीतिमा प्रवेशलाई सफलताको मन्त्र मानेका छन । यी बुँदाहरू आधुनिक व्यवस्थापनका प्रमुख सिद्धान्त हुन् भन्ने कुरामा व्यवस्थापनशास्त्रीहरू समेत स्वीकार गर्छन् ।

मोहन्तीको भारतीय सपना, सरदेसाइको राजनीतिमा आधुनिक व्यवस्थापनका सिद्धान्तका प्रयोग तथा अरविन्द केजरीवालको सरल, निडर, इमान्दार, दुरदृष्टि र व्यापक योजना तयार गरी कार्यन्वयन गर्नसक्नुका साथै सबैलाई सम्मान गर्नसक्ने क्षमताको मिश्रणको रुपमा निजलाई वर्तमानमा आदर्श पुरुषको रूपमा स्थापना गरेको छ र भारतका सबै राजनीतिक दिग्गजले उनलाई यस उपलब्धिका लागि बधाइ दिएका छन् । के उनी सन् २०१४ मा आपलाई भारतीय राजनीतिमा स्पष्ट रूपमा सबल दलको रूपमा स्थापना गर्नसक्छन र त्यसले भारतीय राजनीतिलाई नयाँ फड्को दिनसक्छन् त ? यो आउँदो दिनको प्रश्न भएको छ र यी प्रश्नका उत्तरले नै उनलाई ‘भारतीय सपना’को रूपमा उभ्याउन सक्नेछ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us