‘सस्तो पूँजी’ को समय सकियो,सम्पत्तिको मूल्य बढयो

काठमाण्डु टुडे २०७० मंसिर २७ गते १८:३८ मा प्रकाशित

पेरिस, २८ मंसिर–हाल पूँजी सस्तो ब्याजदरमा उपलब्ध भएकाले लगानीकर्ताहरूले यस्तो रकम लिइ मूल्य बढ्ने अपेक्षामा कलादेखि मदिरा (वाइन) र बिटक्वाइन जस्ता सम्पत्तिमा खन्याउने गरेको विश्लेषकहरूले बताएका छन् ।
    केही समय यस्ता सम्पत्तिको मूल्य बढे पनि र केहीले कीर्तिमान नै कायम गरेता पनि यसले सम्पत्तिको मूल्य अनावश्यक रूपमा बढेको छ । सन् २०१४ मा यो विस्फोट हुने अवस्थामा पुग्ने उनीहरूले उल्लेख गरेका छन् ।
    सन् २००८ मा बित्तिय सङ्कट आरम्भ भएपछि केन्द्रीय बैंकहरूले निकै कम दरमा ऋण उपलब्ध गराउने गरेको र अधिक तरलता कायम गर्ने गरेको देखिएको थियो ।
    फ्रान्सेली बजार नियमनकर्ता एएमएफसँगको गोलटेबुल बैठकमा विश्व बैंकका वित्तीय निर्देशक बट्रान्ड बाद्रले निकै अधिक तरलता खन्याएर प्रमुख समस्याबाट मुक्ति प्राप्त भएको बताए ।
    उनले अमेरिकी फेडरल रिजर्भ र केन्द्रीय बैंकहरूले बजारमा तरलता खन्याउने काम गरिरहेको र केही समयमा उनीहरूले परिस्थितिलाई ध्यान दिनुपर्ने बताए ।
    एएमएफका अध्यक्ष जेरार्ड रामिक्सले तरलता बढी भयो भन्ने कुरामा जोखिम रहेको सबैले स्वीकार गरेको बताए । उनले अमेरिकामा कमजोर श्रेयदर भएका व्यक्ति वा संस्थाहरूको सङ्कट यसैबाट उत्पन्न भएको उल्लेख गरे ।
    यसै कारण सन् २००८ मा विश्वव्यापी आर्थिक सङ्कट आरम्भ भएको थियो । यी सबैको कारण आवश्यकभन्दा बढी तरलता रहेको बताइएको छ ।
    सन् २००० मा कम ब्याजदरका कारण ऋण प्रवाह बढेको थियो । कमजोर वित्तीय श्रेय भएका व्यक्ति तथा संस्थाहरूले पनि घरकर्जा प्राप्त गरेका थिए । वित्तीय बजारमा यसलाई कमजोर श्रेय भएको ऋण (सबप्राइम लोन) भनिन्छ ।
    जब सम्पत्तिको मूल्य घट्न थाल्यो तथा ब्याजदर बढ्न थाल्यो तब जनताको ठूलो भाग दोहोरो मारमा परयो । यसका कारण धेरैले ऋण तिर्न सकेनन र कमजोर श्रेय भएको ऋणको सङ्कट देखा पर्न थाल्यो ।
    अरबौँको खराब कर्जा भएपछि बैंकहरूले ऋण कटौती गर्न थाले र यसले सञ्चालनमा वित्त आवश्यक पर्ने कम्पनीलाई कठिन अवस्थामा पुरयायो ।
    यस्तो अवस्थामा विश्व अर्थतन्त्रलाई पूर्ण रूपमा स्खलित हुन नदिन केन्द्रीय बैंकहरूले पुनः अरबौँको तरलता प्रवाह गरे ।
    यसका लागि ब्याज दर निकै कम दरमा झारियो । युरोपेली बैंकहरूले नोभेम्बर महिनामा हालसम्मकै कम अर्थात ०.२५ प्रतिशतमा ब्याजदर कायम गरे । अमेरिकी केन्द्रीय बैंकले सन् २००८ को अन्त्यदेखि नै उक्त दर कायम गरेको थियो ।
    अहिले आएर ऋण निकै सस्तो भएको छ र लगानीकर्ताहरू सम्पत्तिको मूल्य बढ्ने आशामा लगानी गरिरहेका छन् ।
    इन्स्टिच्युट अफ इन्टरनेसनल फाइनान्सका निर्देशक टिम एडम्सका अनुसार यस आधारमा कला तथा मदिरा (वाइन) को मूल्य निकै बढ्न थालेको छ र नोभेम्बरको अन्त्यसम्म बिटक्वाइन पनि प्रति एकाइ अमेरिकी एक हजारमा बिक्री हुन थालेको छ ।
    अर्कोतिर अमेरिकी फेडरल रिजर्भका अध्यक्ष बेन बर्नान्कलाई प्रतिस्थापन गर्ने जेनेट यलेनले संसदीय सुनुवाइमा अमेरिकी सरल कर्जा नीति, शून्य बराबर ब्याजदर तथा प्रति महिना धितोपत्रमा ८५ अर्ब लगानीले सम्पत्ति तथा धितोपत्रमा नयाँ फोका सिर्जना गर्न थालेको भन्ने कुरालाई अस्वीकार गर्छन । केही विश्लेषकहरूले हाल सम्पत्तिको अतिमूल्याङ्कन भएको कुरालाई अस्वीकार गरेका छन् ।
    अमुन्दोका एरिक टर्जम्यानले बजारमा वृद्धि हुँदा नाफा वृद्धि भएन भने फोका सिर्जना हुने र हाल त्यस्तो नभएको बताए । तर कोष व्यवस्थापन संस्था पिम्कोले ट्विटमा सन् २०१४ मा बजारमा फोका सिर्जना हुने बताएको छ ।
    फेडले अर्थतन्त्रमा ऋण प्रवाह नियन्त्रण गर्ने अनुमानमा बजारको ध्यान केन्द्रित भएको छ । यस वर्षको मध्यतिर लगानीकर्ताहरूले विदेशमा उच्च नाफा तथा तत्कालका फाइदाका लागि सट्टेबाजीमा गरेको लगानी फिर्ता लिन थालेपछि उदाउँदा अर्थतन्त्रका निकै मुलुकको मुद्रा तथा सटही बजारमा मन्दी देखा परेको थियो ।
    अमेरिकी अर्थतन्त्रमा सुधार आएको तथा केन्द्रीय बैंकले अभिप्रेरणा दिने कार्य रोक्ने भन्ने आशङ्कामा वाल स्ट्रिटमा बढी सरल कर्जा प्रवाह भएको छ र त्यसका शेयरको मूल्य बढेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us