
काठमाण्डु, २६ मंसिर–रगतमा अक्सिजनको मात्रा र मुटुको धड्कन थाहा पाउन प्रयोग गरिने पल्स अक्सिमिटर नामक १०० थान उपकरण नेपाल एनेस्थेसियोलोजिष्ट समाजले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
मन्त्रालयमा बुधवार आयोजित कार्यक्रममा समाजका अध्यक्ष डा. वीरेन्द्रबहादुर सिंहले सचिव डा. प्रविण मिश्रलाई ती उपकरणहरु हस्तान्तरण गरेका हुन ।
समाजका अध्यक्ष डा. सिंहले बिरामीको शरीरमा अक्सिजनको मात्रा घटबढ, मुुटुको धड्कन र रक्तचापसमेत थाहा पाउन सकिने पल्स अक्सिमिटर एनेस्थेसियाका दिइएका बिरामीलगायत दम, श्वासप्रश्वास र मुटुका बिरामीलाई लाभदायी हुने बताए ।
अतिव्यस्त अस्पताल र बढी दुर्घटना हुने राजमार्गका उपचार केन्द्रमा सो उपकरणलाई प्रयोगमा ल्याउन आग्रह गर्दै उनले सो उपकरणको प्रयोगको प्रभावकारिताको आधारमा अन्य क्षेत्रमा पनि विस्तार गरिने जानकारी दिए ।
स्वास्थ्य सचिव डा. मिश्रले यस्ता उपकरणको प्रयोगले अझ गुणस्तरीय सेवा दिन सहज हुने भएकाले जनताले प्रत्यक्ष लाभ पाउन सक्ने यस्ता खालका थप उपकरण उपलब्ध गराउन आग्रह गर्दै मन्त्रालयले यसका लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने जानकारी दिए ।
बेलायतस्थित अन्तर्राष्ट्रिय एनेस्थेसियोलोजिष्ट महासंघले उपलब्ध गराएको एउटा पल्स अक्सिमिटरको मूल्य रु एक लाख पर्ने सो समाजले जनाएको छ । रासस