दक्षिण अफ्रिका: वर्तमानका चुनौती

काठमाण्डु टुडे २०७० मंसिर २५ गते १७:३८ मा प्रकाशित

पूर्वराष्ट्रपति नेल्सन मण्डेलाले दक्षिण अफ्रिकाका लागि महान् उपलब्धिहरू हासिल गरिदिए। तर पहिले त्यहाँको प्रतिष्ठित प्रिटोरिया विश्वविद्यालयमा र हाल दिल्लीस्थित दक्षिण एशियाली विश्वविद्यालयमा अध्यापनरत डा. मल्लिका शाक्य भन्छिन्, दक्षिण अफ्रिका अझै पनि गम्भिर समस्याहरूबाट ग्रस्त छ:

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति तथा रंगभेद विरोधी नेता नेल्सन मण्डेलालाई हाम्रो शताब्दीकै चम्किला ताराको रुपमा चित्रण गर्न थालिएको छ।

तर उनलाई नजिकबाट चिन्नेहरुका अनुसार जेलभित्र हुँदादेखि राजनीतिबाट सन्यास लिइसकेपछि पनि आफूलाई हाड-छालाका मान्छे भन्दा बढी ढुंगाका देउवा वा सन्तका रुपमा हेर्न थालिएकोमा मण्डेला अत्यन्त चिन्तित थिए।

उनले धरै पटक भनेका छन्, “म कहिल्यै सन्त थिइन् र भइन, म तपाई हाम्रै छर छिमेकमा भेटिने एउटा सामान्य मान्छे हुँ, यो सामान्य मान्छेको दर्जा वास्तवमा सन्त र देउताभन्दा कयौं गुणा माथी छ र रहनु पर्छ, किनभने संघर्ष सकिएको छैन र संघर्ष मान्छेमै रहनु पर्छ।”

हुन पनि दक्षिण अफ्रिकामा रंगभेद र वर्गभेदको सिलसिला अझै टुंगिएको छैन।

कानुनी रुपमा खारेज गरिएको दुई दशक वितिसक्दाखेरि पनि जातिभेदको जरो उखेलिन अझैं बाँकी नै छ।

उदाहरणका लागि शासन अब गोराहरुको हातबाट अश्वेतको हातमा गइसकेको छ।

तैपनि उनीहरुबीचको आर्थिक असमानता चुलिएको चुलियै छ। अकुत सम्पति अझैं गोराहरुकै हातमा छ।

देशको प्राकृति र आर्थिक सम्पदाहरुमा राज्यको वा आम जनताको स्वामित्व स्थापित भइसकेको छैन।

४५ प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि नै छन् भने एक चौथाई जनसंख्या त बेरोजगार नै छ।

जसले दक्षिण अफ्रिकालाई संसारकै सबैभन्दा बढी आन्तरिक असमानता भएका मुलुकहरुको सूचीको झण्डै शीर्षस्थानमा राखि रहेको छ।

रंगभेदको अन्त्य भइसकेका वर्षहरुमा अश्वेत जातीको एउटा सानो वर्ग र समुह गरिबीको रेखाभन्दा माथि उठ्न त सफल भएको छ तर त्यो सानो नवकुलीन वर्गले पनि आम जनताको स्थितिप्रति त्यति सदाशयता वा जागरुकता देखाएको पाइँदैन।

उदाहरणका लागि गत वर्ष अगस्टमा मारिकाना भन्ने प्लाटिनम खानीमा न्युनतम ज्याला वृद्धिका लागि भएको आन्दोलनमा प्रहरीले अपर्झट गोली चलाउँदा झण्डै ५० जना मजदुरहरुको ज्यान गएको थियो।

ती मारिएका सहकर्मी मजदुरहरुको भन्दा २५ गुणा बढी ज्याला खाने युनियनका नेताहरुले समेत ती मृतक मजदुरहरुप्रति खासै सहानुभूति देखाएनन्।

उसै पनि आम जनताको अवस्था हेर्ने हो भने दक्षिण अफ्रिकामा आपराधिक घट्नामा दैनिक ५० जनाभन्दा बढी मानिस मारिन्छन्।

सन् २०१२ मा मात्रै ६५ हजारभन्दा बढी महिलाहरु बलात्कारको शिकार भएका कहालीलाग्दा तथ्याङ् बाहिर आइरहेका छन्।

यस हिसावले भन्ने हो भने नेल्सन मण्डेलाले भन्ने गरेको ‘लङ्ग मार्च टु फ्रिडम’ अर्थात स्वतन्त्रता तर्फको लामो पदयात्रा दक्षिण अफ्रिकामा अझैं जारी नै छ जस्तो देखिन्छ। बीबीसी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us