रुसको सरकारी समाचार संस्था बन्द

काठमाण्डु टुडे २०७० मंसिर २५ गते २:३४ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर–रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले त्यहाँको राष्ट्रिय समाचार संस्था रिया नोभोस्ती बन्द गर्ने घोषणा गरेका छन् । समाचार संस्थालाई भंग गर्ने घोषणा गरिए पनि त्यसको कारण भने केहि बताईएको छैन । आफ्नो निर्णय अचानक एक आधिकारिक सरकारी वेभसाईट मार्फत सार्बजनिक गर्दै रुसी राष्ट्रपति पुटिनले समाचार संस्था बन्द गर्ने घोषणा गरेका हुन् ।

यो विश्वकै सबैभन्दा ठूलो समाचार संस्था हो ।

रिया नोभोस्तिलाई नयाँ समाचार संस्था रसिया सेगोदन्याले विस्थापित गर्ने रुसी राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । रसिया सेगोदन्या अर्थात रसिया टुडेले रुसी समाचार बाह्य विश्वमा प्रचार प्रशार गर्ने काम गर्ने वेभसाईटमा उल्लेख छ । नयाँ समाचार संस्थाको प्रमुखमा दिमित्री किसेल्योभलाई नियुक्त गरिएको छ । किसेल्योभ विवादास्पद छवि भएका ब्यक्ति मानिन्छन् । उनी अमेरिका विरोधी, विपक्षी विचारहरुका विरोधी र समलैंगिकताका प्रखर विरोधीका रुपमा चिनिन्छन् ।

सन् १९४१ मा सोभियत शासनकालमा स्थापना भएको रिया नोभोस्तीलाई अचानक बन्द गर्ने निर्णयबारे आफूहरुले क्रेमलिनको वेभसाईट मार्फत मात्र थाहा पाएको एजेन्सीकाकर्मचारीहरुले जनाएका छन् ।

रुसको सोच्चीमा आगामी फेब्रुअरीमा हुन लागेको शितकालिन ओलम्पिक प्रतियोगिताको मुख्य प्रायोजक समेत रहेको नोभोस्तीलाई बन्द गर्ने रुसी राष्ट्रपतिको निर्णयलाई समाचारमा राज्यको नियन्त्रण गर्ने कदमको रुपमा हेरिएको छ । अहिले पनि रुसमा सञ्चार माध्यमहरुमा कडा सरकारी निगरानी कायम छ । स्वतन्त्र संस्थाको रुपमा विकास हुँदै आएको समाचार संस्था बन्द गर्ने निर्णयले रुसबाट आउने समाचारहरुमा थप निगरानी रहने आँकलन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us