समानुपातिकको सूची बुझाउन पुस ३ सम्म म्याद

काठमाण्डु टुडे २०७० मंसिर २५ गते २:२३ मा प्रकाशित

nirbachan-aayogकाठमाण्डु–निर्वाचन आयोगले समानुपातिक सभासदको नामावली बुझाउन दलहरुलाई थप आठ दिन समय दिएको छ । दलहरुको आग्रहमा समानुपातिक सभासद् सिफारिसका लागि आयोगले पुस ३ गतेसम्मको समय उपलब्ध गराएको हो ।

निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईले पुस तीन गतेसम्म दलहरुले समानुपातिक सभासदको नामावली बुझाउन सक्ने जानकारी दिए ।

यसअघि आयोगले दलहरुलाई मंगलबारसम्मको समय दिएको थियो ।

प्रमुख दल नेपाली काँग्रेसलेसमानुपातिक सभासद छनोटको गृहकार्य जारी रहेकोले थप समय उपलब्ध गराइदिन सोमबार आयोगलाई आग्रह गरेको थियो ।

समानुपातिकतर्फ ९१ सिट पाएको काँग्रेसले सभासद छान्न नसकेपछि थप समय मागेको बताइएको छ । तर, संविधानसभामा नजाने घोषणा गरेको एमाओवादी लगायत दलसँग सहमतिको प्रयास जारी रहेकोले थप समय आवश्यक परेको काँग्रेसको भनाइ छ ।

निर्वाचन आयोगमा हालसम्म साना ९ दलले मात्रै समानुपातिक सभासदको सूची बुझाएका छन् । मंसिर चारको निर्वाचनमा भाग लिएका १ सय २२ मध्ये ३० दलको संविधानसभामा प्रतिनिधित्व हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us