उत्तर कोरियाका वरिष्ठ नेता चाङ्ग पदच्युत भएको पुष्टि

काठमाण्डु टुडे २०७० मंसिर २४ गते ३:५२ मा प्रकाशित

Chang-Song-Taekकाठमाण्डु, २४ मंसिर–उत्तर कोरियाका एक प्रभावशाली र वरिष्ठ नेतालाई पदबाट हटाईएको खबरको पुष्टी भएको छ । केहि दिन अघि दक्षिण कोरियाको जासुसी रिपोर्टलाई आधार मान्दै उत्तर कोरियाको सर्वोच्च सैनिक संस्थाका उपाध्यक्ष चांग सांग थाएकलाई पदच्युत गरिएको समाचार सार्वजनिक भएको थियो ।

उत्तर कोरियाको राष्ट्रिय समाचार संस्था केसीएनएका अनुसार चांगलाई आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा बर्खास्त गरिएको हो । उत्तर कोरियाली समाचार संस्थाले जारी गरेको समाचारमा चांगलाई पार्टी विरोधी प्रतिक्रान्तिकारी कदम चालेको आरोप लगाईएको छ । उनमाथि पार्टीको एकतामा खलल पुर्याउन खोजेको आरोप पनि लगाईएको छ ।
उत्तर कोरियामा दोस्रो सबैभन्दा शक्तिशाली मानिने पदमा रहेका चांग उत्तर कोरियाका वर्तमान राष्ट्रपति किम जोङ उनका फुपाजु पनि हुन् । चांगको विवाह पूर्वराष्ट्रपति किम जोङ ईलकी बहिनीसँग भएको छ ।

बुवा किम जोङ ईलको स्वर्गारोहणपछि किम जोङ उनले सत्ता सम्हाले यता उत्तर कोरियाको राजनीतिमा भएको यो सबैभन्दा ठूलो उथल पुथल हो । उत्तर कोरियाको राजनीतिमा चांगलाई पर्दा पाछाडिबाट सत्ता सम्हाल्ने गरेका शक्तिशाली ब्यक्ति मानिँदै आएको थियो । चांग अधिकांश उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनसँगै देखिने गर्थे । उनलाई उनको सबैभन्दा निकट सहयोगी समेत मान्ने गरिएको थियो । केहि समय अघि मात्र चांगका निकट सहयोगीहरुलाई भ्रष्टाचारको आरोपमा फाँसी दिईएको दक्षिण कोरियाली जासुस संस्थाले दावी गरेको थियो । चांगलाई पार्टी र पार्टी नेताप्रति बफादार रहेको प्रदर्शन गर्दै पर्दा पछाडी पार्टी विरोधी गतिविधिमा संलग्न रहेको र दोहोरो चरित्र देखाएको आरोप पनि लगाईएको छ ।

चांग सन् २००४ मा पनि एक पटक सार्वजनिक जीवनबाट हराएका थिए । त्यसबेला पनि उनलाई नजरबन्दमा राखिएको समाचार आएका थिए । त्यसबेला उनलाई पुनः शिक्षाकोलागि पठाईएको पनि अनुमान गरिएको थियो । त्यसको दुई वर्ष पछि उनी फेरि सत्तामा फर्किएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us