सार्क २९ औं बर्षमा प्रवेश

काठमाण्डु टुडे २०७० मंसिर २३ गते ३:३५ मा प्रकाशित

SAARC-LOGOकाठमाण्डु, २३ मंसिर–दक्षिण एसियाली मुलुकहरूबीच क्षेत्रीय सहयोग प्रवद्र्धन गर्दै ति मुलुकका जनताको कल्याणका निम्ति सामूहिकरूपमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) आइतबारदेखि २९ औं वर्षमा प्रवेश गरेको छ ।

स्थापनाकालमा दक्षिण एसियाका सात मुलुक संस्थापक सदस्य रहेका सार्क क्षेत्रीय मञ्चमा पछिल्लोपटक अफगानिस्तान थपिएपछि यो संगठन आठ राष्ट्रमा विस्तार भएको छ । सदस्य राष्ट्रका जनताको जीवनस्तर उकास्ने प्रमुख लक्ष्य रहेको सार्कले अन्तर–सरकारी निकाय, सदस्य देशका सरकार–सरकार र जनता–जनताबीचको सम्पर्कलाई निरन्तरता दिँदै सहकार्य एवम् आपसी सदभाव प्रवद्र्धनमा आफूलाई केन्द्रित गर्दै आएको छ ।

सार्क स्थापना दिवसको उपलक्ष्यमा सार्कका महासचिव अहमेद सलिमले एक सन्देश जारी गर्दै अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाका सरकार एवम् जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् । सार्क प्रक्रियालाई सक्षम, प्रभावकारी एवम् परिणाममुखी बनाउन अझै धेरै गर्न बाँकी रहेको र सार्कसँग सम्बन्धित संस्थाहरूलाई अझ सुदृढ बनाउनुपर्ने उनको सन्देशमा उल्लेख छ ।

यसैबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३५ औं मन्त्रिपरिषद् बैठक आगामी फागुन ५ देखि ८ गतेसम्म माल्दिभ्सको राजधानी मालेमा हुने भएको छ । अठारौं शिखर सम्मेलन भने आगामी वर्ष नेपालमा हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us