सामाजिक सुरक्षा भत्ता वितरण ठप्प

काठमाण्डु टुडे २०७० मंसिर २३ गते १:५७ मा प्रकाशित

कञ्चनपुर, २३ मंसिर–कञ्चनपुरको पिपलाडी गाविसका ज्येष्ठ नागरिकले दसैंअघि नै पाउनुपर्ने सामाजिक सुरक्षाअन्तर्गतको ज्येष्ठ नागरिक भत्ता हालसम्म पाउन सकेका छैनन् । जिल्ला विकास समिति कञ्चनपुरले भदौमा गाविसको खातामा रकम निकासा पठाए पनि गाविस सचिवको अभावमा हालसम्म भत्ताको रकम वितरण हुन नसकेको हो ।

गाविसमा कार्यरत सचिव सेवाग्राहीसँगको विवादका कारण जिल्ला विकास समितिमा तानिएपछि अर्को गाविस सचिवको व्यवस्था नगरिँदा ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, अपाङ्ग र एकल महिलाले भत्ताको रकम पाउन नसकेका हुन् ।

पिपलाडी–४ की चन्द्रादेवी चन्दले आफू तीन महिनादेखि एकल महिलाको भत्ताका लागि गाविस कार्यालयमा पुग्दै आए पनि गाविस सचिव नभएको भन्दै कर्मचारीले फर्काउने गरेको गुनासो गरिन् ।
झलारी गाविसका सचिवलाई तत्काल भत्ता रकम वितरण गर्न निर्देशन दिइसकिएकाले केही दिनभित्रै रकम वितरण गरिने जिल्ला विकास समिति योजना शाखाका प्रमुख महेश बमले बताए ।

पिपलाडी गाविसको तथ्याङ्कअनुसार ज्येष्ठ दलित १२४, ज्येष्ठ अन्य ४१३, एकल महिला ४१९, पूर्ण अपाङ्ग २१ र आंशिक अपाङ्ग चार गरी ९८२ जनाले भत्ता रकम पाउने गरेका छन् । ९८२ जनाका लागि जिविसले गाविसको खातामा ३६ लाख ५२ हजार ८०० रुपैयाँ निकासा गरेको छ ।

ज्येष्ठ नागरिकलाई ५००, एकल महिलालाई ५००, पूर्ण अपाङ्गलाई एक हजार र आंशिक अपाङ्गलाई ३०० रुपैयाँ मासिक रुपमा भत्ता उपलब्ध गराउने व्यवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us