दलित समुदाय पुर्ख्यौली पेसाबाट विस्थापित

काठमाण्डु टुडे २०७० मंसिर २३ गते १:५२ मा प्रकाशित

तानसेन, २३ मंसिर–पाल्पाका दलित समुदायका युवा पुर्ख्यौली पेसाबाट विस्थापित बन्न थालेका छन् । जिल्लाका अधिकांश दलित समुदायका युवा पुर्खाले अँगालेका तामाका भाँडा बनाउने, कृषि औजार, सिलाइ व्यवसाय र छालाका जुत्ता बनाउने पेसाबाट विस्थापित बनेका हुन् ।

महिलाहरुले सिलाइ पेसा अँगाल्न थालेपछि परियार जातिका युवाले यो पेसाबाट राम्रो आम्दानी नहुने भन्दै पेसा छाडेको पाल्पा छहराका रमेश परियारले बताए । सरकारले गाउँगाउँमा महिलालाई सिलाइ तालिम दिएपछि उनीहरूको पेसा अहिले सङ्कटमा परेको हो । सरकारी निकायबाट नै दलितको पेसामाथि आक्रमण भएको उनीहरूको गुनासो रहेको छ ।

गाउँमा कम मूल्यमा सिलाइको काम गर्नुपर्ने स्थिति सिर्जना भएकाले दलित समुदायका युवामा कामको खोजिमा विदेश जाने लहर देखिएको छ । राज्यले सीप भएका समुदायको सीपलाई आधुनिकीकरण नगर्दा बर्सेनि नेपाली युवा विदेश पलायन हुन बाध्य भएका छन् । दलित समुदायका युवाले अहिले सिलाइ, तामा तथा फलामको भाँडा बनाउने, पञ्चेबाजा बजाउने, जुत्ता सिलाउने लगायतका काम गर्न छोडिसकेका छन् ।

नेपाल दलित मुक्ति मोर्चा पाल्पाका उपाध्यक्ष सूर्य रतन राज्यले दलित समुदायको पुर्ख्यौली पेसालाई आधुनिकीकरण गर्न सीप संरक्षण अभियान चलाउनुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us