‘हवाई सुरक्षा सरकारको सर्वाधिक प्राथमिकतामा’

काठमाण्डु टुडे २०७० मंसिर २२ गते १६:५० मा प्रकाशित

काठमाण्डु, २२ मङ्सिर-सरकारले हवाई सुरक्षालाई सर्वाधिक प्राथमिकता दिएको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई कठोरताका साथ पालना गराउने प्रतिबद्धता दोहो¥याएको छ । युरोपेली आयोगले नेपालमा उडान गरिरहेका विमानलाई युरोपेली संघमा आबद्ध सदस्य मुलुकमा उडाउन नदिने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सुनिश्चितासम्बन्धी दक्षिण एसियाली क्षेत्रीय प्रयास (एसएआरआई)कार्यक्रम मार्फत युरोपेली उड्डयन सुरक्षा निकाय (इएएसए) सहकार्य गर्दैै आएको स्पष्ट गरेको छ ।
नागरिक उड्डयन सेवा प्रदायक तथा समग्र उड्डयन क्षेत्रको सुरक्षा सुदृढ तुल्याउन प्राधिकरणले सुरक्षा व्यवस्थापन प्रणाली स्थापना स्थापना गर्नुका साथै त्यसलाई कडाइका साथ कार्यान्वयन गर्दै आएको आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।
“यसका अतिरिक्त सुरक्षा नियमावली पालना नगर्नेहरूमाथि प्राधिकरण अझ कडाइका साथ प्रस्तुत भएको छ,”दुर्घटना जाँच आयोगका सुझाव कार्यान्वयनलाई पनि साथै लागू गराइएको स्पष्ट गर्दै विज्ञप्तिमा भनिएको छ ।
हवाई सेवा सञ्चालक तथा तिनका कर्मचारीलाई सुरक्षा सजगताप्रति थप सचेत गराइएको र दुर्घटनाका घटना रोक्न विशेष कार्यक्रम क्रमशः लागू गरिएको प्राधिकरणले बताएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र युनिभर्सल सेफ्टी ओभरसाइट अडिट प्रोग्राम (युएसओएपी) ले निर्धारण गरेका मापदण्डको अक्षरशः पालनाका निम्ति अल्प, मध्य र दीर्घकालीन योजना तयार गरी त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा रहेको पनि प्राधिकरणले स्पष्ट गरेको छ ।
“विगत केही महिनायता युरोपेली आयोगसँग निकटमा रहेर परामर्श भइरहेको र आयोगको आग्रहबमोजिम हवाई सुरक्षासम्बन्धी प्रमाण एवम् अभिलेख बुझाएका छौ,”– यही मङ्सिर ४ गते आयोगको हवाई सुरक्षा बैठकमा नेपालको स्थिति स्पष्ट पारिएको र सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको विज्ञप्तिमा स्मरण गराइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us