सहकार्य गरी अघि बढ्ने काँग्रेस एमालेबीच सहमति

काठमाण्डु टुडे २०७० मंसिर २२ गते १३:३३ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर–नेपाली कांग्रेस र नेकपा एमालेबीच आपसी समझ्दारीका साथ सहकार्य गर्दै अघि बढ्ने सहमति भएको छ । दुई दलबीच शान्ति कोषको सचिवालय बबरमहलमा शनिवार भएको छलफलमा अहिलेको राजनीतिक अभिभारा सफलताका साथ पूरा गर्न सहकार्य गर्दै अघि बढ्ने सहमति भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । उनीहरुले असन्तुष्ट दललाई सहमतीमा ल्याउन आइतबारदेखि नै पहल थाल्ने बताएका छन् ।

कांग्रेस एमालेले चुनावमा धाँधली भएको भन्दै आयोग गठन गरी छानविन नगरेसम्म संविधानसभामा नजाने निर्णय गरेको एकीकृत नेकपा माओवादी सहितका दल र चुनाव बहिस्कार गरेका दलहरुसँग पनि तत्काल वार्ता र संवाद गर्ने निर्णय गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । राष्ट्रपतिको चुनाव गर्ने नगर्ने चर्को विवादका बीच दुई दलबीच छलफल भएपनि उपसभापति पौडेलले सरकार र राष्ट्रपतिको चुनावका बारेमा कुनै छलफल नभएको दावी गरे ।

संविधानसभाको बैठक नै नबसी सरकार गठन हुन नसक्ने भन्दै बैठकले पहिले असन्तुष्ट दलहरुलाई संविधानसभामा ल्याउने विषयमा छलफल केन्द्रित गरेको पौडेलको भनाई छ । अरु देशमा जस्तो सजिलो कानून नेपालको नभएकाले पहिले सरकार गठन अघि संविधानसभामा प्रवेश गर्नु पर्ने पौडेलको तर्क छ । आइतवार बिहानै आफ्नो पार्टीले एकीकृत माओवादीसँग छलफल गर्ने, त्यस्तै एमालेले पनि छलफल गर्ने र सबैलाई सहमतिमा ल्याउने दुबै दलका नेताहरुले बताएका छन ।

sushil jhalanath

यस्तो सहमतिको पूर्ण विवरण

नेपाली कांग्रेस नेकपा एमालेका शीर्षस्थ नेतावीच २०७० मंसिर २२ गते सम्पन्न भएको वार्तामा निम्न निर्णयहरु गरियो

१. २०७० साल मंसिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचन आमरुपमा स्वतन्त्र, निश्पक्ष र शान्तिपूर्णरुपले सम्पन्न भएकोमा सबैपक्षलाई हार्दिक धन्यवाद दिने निर्णय गरियो ।

२. संविधानसभाको निर्वाचनमा प्राप्त परिणामलाई सम्मान गर्दै नेपाली कांग्रेस र नेकपा एमाले वर्तमान राजनीतिक अभिभारालाई सरलताका साथ पूरा गर्न आपसी समझदारीका साथ सहकार्य गर्दै अघि बढ्ने सहमति भयो ।

३. यसैक्रममा एकीकृत नेकपा माओवादीलगायतका सबै राजनीतिक दलहरुसँग सहमतिका लागि वार्ता र सम्वाद तत्काल प्रारम्भ गर्ने निर्णय गरियो ।

सुशील कोइराला

सभापति, नेपाली कांग्रेस

झलनाथ खनाल

अध्यक्ष, नेकपा एमाले

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us