फुजेलका अधिकारीको हत्या आरोपमा पौडेल पक्राउ

काठमाण्डु टुडे २०७० मंसिर २२ गते १०:४५ मा प्रकाशित

Adhikari-Coupleचितवन, २२ मंसिर– गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याकाण्डमा संलग्न रहेको अभियोगमा भरतपुर नगरपालिका वडा नं ८ गौरीगञ्ज निवासी परशुराम पौडेल (अजिव) लाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति प्रहरीले निवासबाटै पौडेललाई पक्राउ गरेको हो । मृतकका दाजु नुरप्रसाद अधिकारीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले पौडेललाई पक्राउ गरेको हो । कृष्णप्रसाद अधिकारीको विसं २०६१ सालमा पूर्वी चितवनको रत्ननगरबाट अपहरण गरी हत्या भएको थियो ।

केही महिना अगाडि सोही हत्यामा संलग्न रहेको भन्दै गोर्खा फुजेल–४ का रामप्रसाद अधिकारीलाई पक्राउ गरे तापनि अनुसन्धान प्रक्रिया फितलो भएको भन्दै सरकारी वकिलको कार्यालयले कुनै पनि प्रक्रिया अगाडि नबढाई रिहा गरेको थियो ।

पक्राउ परेका पौडेलको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सञ्जयबहादुर राउतले बताए । छोराको हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै उनका मातापिता पछिल्लो पटक डेढ महिनादेखि काठमाण्डुमा आमरण अनशनमा बसेका छन् । पक्राउ परेका पौडेल नारायणगढस्थित सत्यम् जेवियर्स स्कुलका सञ्चालक एवम् जग्गा व्यापारी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us