
काठमाण्डु, २२ मंसिर– नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले आफ्नो पार्टी नागरिक समाज नभई राजनीतिक पार्टी भएको भन्दै केही सिट दिएर संविधानसभा प्रवेश गराउने कुराको आपत्ति जनाएका छन् ।
उनले भने, ‘हाम्रो पार्टी नागरिक समाज हो र ? २६ सिट दिने ?’ गजुरेलले संविधानसभाबाटै संविधान जारी गर्ने हो भने सबै पार्टी बीचमा सहमति र सहकार्य आवश्यक भएको र यसका लागि आफ्नो पार्टी तयार रहेको भने उनले जानकारी दिए ।
एकीकृत नेकपा माओवादीसँग कार्यगत एकताको कुनै औचित्य नरहेको भन्दै तत्काल पार्टी एकीकरणको सम्भावना नरहेको बताएका छन् । उनले बाटो बिराएर हिँडेका एमाओवादीले संविधानसभा छाडेर आफ्नो पार्टीले उठाउँदै आएको गोलमेच सम्मेलनमा सहमति जनाएमा मात्र कार्यगत एकतामा सोच्न सक्ने बताए ।
गजुरेलले भने, ‘निर्वाचनमा भाग लिने, मेची महाकाली अभियान सञ्चालन गर्ने, निर्वाचनका दिन ऐतिहासिक र युगान्तकारी मतदान सम्पन्न भो भनेर वक्तव्य निकाल्ने अनि मतगणना सुरु भएपछि मध्यरातमा निर्वाचन धाँधली भो भन्ने यो अवसरवादी चरित्र हो कि होइन ?’
त्यस्तै काँग्रेसका नेता डा.प्रकाशशरण महतले नेपाली जनताले पार्टीलाई दिएको जनादेशअनुसार एक वर्षभित्रमा संविधानसभाबाट संविधान जारी गर्न पार्टीले सबै दलसँग सहकार्य गर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता परशुराम खापुङले राष्ट्रपति र उपराष्ट्रपतिलाई अहिले विवादमा तान्न नहुने बताए भने सदभावना पार्टीका उपाध्यक्ष सञ्जय साहले निर्वाचनबाट आएको जनादेशलाई सबैले स्वीकार गर्नुपर्छ भने ।