मध्यमाञ्चलका आठ सय उजुरी अख्तियारमा

काठमाण्डु टुडे २०७० मंसिर २२ गते ६:२८ मा प्रकाशित

हेटौँडा, २२ मङ्सिर–अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाले  आयोगमा दर्ता भएका एक हजारमध्ये ९६० उजुरीको अहिले अनुसन्धान गरिरहेको छ ।
आयोगले ४० वटा उजुरीको स्थलगतरुपमा छानबिन र थप अनुसन्धान गरेर फछ्र्याेट गर्ने जनाएको छ । आयोगका अनुसार क्षेत्रीय कार्यालयमा मध्यमाञ्चल विकास क्षेत्रका काठमाण्डु, भक्तपुर, ललितपुर र मकवानपुरबाहेक अन्य जिल्लाबाट ८०० भन्दा बढी उजुरी दर्ता भएका छन् ।
यसैगरी आयोगको केन्द्रीय कार्यालय  काठमाण्डुमा १०० तथा क्षेत्रीय कार्यालयमा अहिले १०० भन्दा बढी नयाँ उजुरी दर्ता भएका छन् ।
आयोगको केन्द्रीय कार्यालय काठमाण्डुमा दर्ता भएका १०० उजुरी छानबिन र अनुसन्धानका लागि क्षेत्रीय कार्यालय हेटौँडा पठाइएको बताइएको छ ।
मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत तराईका रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा र सिन्धुलीबाट क्षेत्रीय कार्यालयमा बढी उजुरी दर्ता भएका छन् । उजुरीमा ती जिल्लाका स्थानीय निकायअन्तर्गतका गाविस, नगरपालिका, विद्यालय, स्वास्थ्यचौकीलगायतमा अनियमितता भएको आरोप लगाइएको छ ।
तराईका ११ जिल्लाबाट प्राप्त विभिन्न उजुरीको स्थलगतरुपमा छानबिन गर्न अहिले आयोगले अनुसन्धान अधिकृत, प्राविधिक, इन्जिनियर र  प्रहरी अधिकृतको विभिन्न टोली बनाएर शुक्रबार त्यसतर्फ पठाएको आयोगका क्षेत्रीय कार्यालय मकवानपुरका प्रमुख विश्वनाथ ढकालले बताए ।
क्षेत्रीय कार्यालयको कार्यक्षेत्र माध्यमाञ्चल विकास क्षेत्रका काठमाण्डु, ललितपुर र भक्तपुर बाहेक अन्य १६ जिल्ला तोकिएको  छ । हेटौँडामा गत असोज १ गते आयोगको मध्यमाञ्चलस्तरीय कार्यालय स्थापना गरिएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us