लोकतन्त्रका उपलब्धि संस्थागत गर्ने सङ्घर्ष जारी

काठमाण्डु टुडे २०७० मंसिर २२ गते ६:१० मा प्रकाशित

काठमाण्डु, २२ मङ्सिर–नवनिर्वाचित सभासद् एवम् संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्ने सङ्घर्ष जारी रहेको बताएका छन ।
अमेरिकी सरकारको अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व कार्यक्रम (आइभिएलपी) मा सहभागी भई स्वदेश फर्केका मुलुकका विभिन्न व्यावसायिक क्षेत्रका व्यक्तिहरूको सङ्गठन आइभि अलुम्नाई एसोसिएसन नेपाल(आइभान)ले शनिवार आयोजना गरेको ‘नेपालमा प्रजातन्त्रको प्रवद्र्धन र विकास’ विषयक कार्यशालामा उनले त्यस्तो धारणा व्यक्त गरेका हुन ।subash nembang
लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन तथा जनआन्दोलनका उपलब्धिलाई जोगाउने आधार तयार गर्ने प्रयासमा राजनीतिक दलहरू रहेका उल्लेख गर्दै उनले विगतका अनुभवबाट सिकेर अघि बढ्न जरुरी भएको बताए । बितेका समयमा भएका परिघटनाबाट पाठ सिकेर अब जुनसुकै हालतमा संविधान बन्नुपर्नेतर्फ सङ्केत गर्दै उनले भने “विगतका अनुभवबाट सिकौँ, अप्ठ्यारो प¥यो भनेर पछि नपरौँ ।”
अमेरिकी राजदूताबासका कार्यबाहक राजदूत जोन एल कारवाइलले देशले आफूले के दियो भन्दा पनि आफूले देशलाई के दियौँ भन्ने सोचका साथ नेपालीले राष्ट्र निर्माणको मार्गमा अग्रसर हुनुपर्ने बताए ।
आइभानका अध्यक्ष तारानाथ दाहालले आइभान नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारको सेतु भएको उल्लेख गर्दैै त्यसलाई नेपालको विकास–निर्माणको प्रक्रियामा अझ रचनात्मक ढङ्गले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
आइभानका उपाध्यक्ष केदार खड्का र महासचिव कोपिला अधिकारीले आइभानका गतिविधिबारे जानकारी गराएका थिए ।
कार्यशालामा पूर्वसभासद् राधेश्याम अधिकारीले ‘नयाँ संविधानद्वारा लोकतन्त्रको सुदृढीकरण’, पत्रकार अच्युत वाग्लेले ‘नेपालको बृहत् आर्थिक वृद्धिका लागि समग्र विकास निकायको सहभागिता’, महिला अधिकारकर्मी दुर्गा घिमिरेले ‘महिला बेचबिखनविरुद्धको सङ्घर्ष’ र कानुन व्यवसायी दिनेश त्रिपाठीले ‘स्वतन्त्र एवम् निष्पक्ष संविधानसभा निर्वाचनका निम्ति चुनौती न्यूनीकरण’ विषयक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us