
जनकपुर, २२ मंसिर–रामजानकी विवाह महोत्सव आज जनकपुरमा हर्षोल्लासका साथ मनाइंदै छ
हरेक वर्ष मंसिर शुक्लपक्षका दिन राम र जानकीको स्वयंवर भएको विश्वासमा विवाह पञ्चमी पर्व मनाउने गरिन्छ । विवाह पञ्चमीका अवसरमा जनकपुरको रामजानकीलगायत राम मन्दिरहरुमा बिहानैदेखि मेला लागेको छ ।
रामजानकी मन्दिरमा लाग्ने विशेष मेलामा सहभागी हुन देशका विभिन्न ठाउँ र भारतबाट समेत भक्तजनको घुइँचो लागेको छ । त्रेतायुगमा रामले धनुष तोडेर जनकपुरका राजा जनककी छोरी जानकीलाई विवाह गरेको दिनको सम्झनामा हरेक वर्ष मंसिर शुक्ल पञ्चमीमा विवाह पञ्चमी पर्व मनाउने गरिएको छ ।
दिउँसो जनकपुरको जानकी मन्दिरबाट निस्किएको सीताजीको डोली र राममन्दिरबाट निस्केको भगवान श्रीरामको डोली रंगभूमि मैदानमा पुगी सीता स्वयम्वर कार्यक्रम आयोजना गरिने छ ।
विवाह सकिएपछि भोलि जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवले भारतको आयोध्याबाट आएका जन्तीहरुलाई लत्ता कपडा र प्रसाद दिई बिदाई गर्नेछन् । विवाह पञ्चमीका दिन विवाह गर्न साइत जुराउनु पर्दैन भन्ने जनविश्वास रहिआएको छ ।