
काठमाण्डु, २२ मंसिर– राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे विवाद भएपछि काँग्रेस र एमाले समान धारणा कायम गर्ने प्रयासमा जुटेका छन् ।
त्यसका लागि आज दुई दलका शीर्ष नेताको बैठक बस्न लागेको छ ।
दिउँसो तीन बजेपछि बस्ने बताइएको बैठकको स्थान भने खुलाइएको छैन । बैठकमा राष्ट्रपति उपराष्ट्रपति परिवर्तन गर्ने वा नगर्ने तथा सत्तासमीकरण र नयाँ संविधान निर्माणका विषयमा प्याकेज सहमति कायम गर्ने विषयमा छलफल हुने बताइएको छ ।
संविधानसभा निर्वाचनबाट पहिलाका रुपमा स्थापित भएको काँग्रेस र दोस्रो दल एमालेले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे परस्परविरोधी धारणा सार्वजनिक गर्दै आएका छन् ।
काँग्रेसले अन्तरिम संविधानमा संविधानसभाबाट नयाँ संविधान जारी नभएसम्म राष्ट्रपति र उपराष्ट्रपति कायम रहने व्यवस्था रहेको भन्दै राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्न नहुने पक्षमा छ । एमाले भने ताजा जनादेशका आधारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुनुपर्ने अडानमा छ ।