एमाओवादीका कमजोरी र अव चाल्नु पर्ने कदम

काठमाण्डु टुडे २०७० मंसिर २० गते ८:४५ मा प्रकाशित

Ramchandra 1
हुण्डुरसमा गत २४ नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा बिपक्षीहरुले धाँधली भएको आरोप लगाएपछि त्यहाँ पुन मतगणना गर्न त्यहाँको सरकार बाध्य भएको छ । बामपन्थी बिपक्षी नेता जिओमारा क्यास्ट्रोको अनुरोध स्वीकार गर्दै निर्वाचन उच्च अदालतका प्रमुख डेभिड मातामोरोसले सबै मतपत्र जाँच जरी पुन मतगणना गर्न आदेश दिएका छन ।
नेपालमा पनि एकीकृत माओवादीले निर्वाचनमा नीतिगत,संस्थागत र प्रक्रियागत रुपमा धाँधली भएको आरोप लगाइरहदा प्रधानन्यायधिश खिलराज रेग्मी नेतृत्वको सरकार कानमा तेल हालेर बसेको छ । एकीकृत माओवादीले आफनो पार्टीका तर्फबाट छानवीन आयोगको प्रतिवेदन सार्वजनिक गर्दै सरकारलाई पनि धाँधलीको छानवीन गर्न उच्चस्तरिय आयोग गठन गर्न माग गरेको छ । तर सरकारले त्यस्तो आयोग गठन गर्ने तत्परता देखाएको छैन ।
एक युगमा एक पटक हुने संबिधानसभाको निर्वाचन नेपालमा दुई पटक हुन पुगेको छ । राजनीतिक दलको आम सहमतिमा भएको पहिलो संबिधानसभा निर्वाचन र राजनीतिक असहमतिका वीच भएको दोस्रोे निर्वाचन वीच आकाश जमिनको फरकपन देखिएको छ । एकीकृत माओवादी र संघीयताका पक्षधर शक्तिलाई अनपेक्षित रुपमा पराजित गराएर काँग्रेस एमाले जस्ता यथास्थितिवादी शक्तिलाई बिजयी बनाइएको दोस्रो संबिधानसभा निर्वाचन विवादस्पद बन्न पुगेको छ ।
निर्वाचनमा नाटकीय परिणाम आउनुमा एकीकृत माओवादीले पनि आन्तरिक र बाह्य दुवै क्षेत्रबाट कमजोरी भएको समीक्षा गर्न थालेको छ । समानुपातिक तर्फको प्रणाली प्रत्यक्ष तर्फको भन्दा बढी मत देखिनुले संबिधानसभा निर्वाचनमा सहभागी भएका एकीकृत माओवादीसहित १६ राजनीतिक दलले लगाएको आरोप पुष्टी गर्दै लगेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले धाँधली र षडयन्त्र भएको बिषय अडियो रेकर्डसहित सार्वजनिक गरिसकेका छन भने राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि निर्वाचनको नजिता निर्माण प्रति शंका व्यक्त गरेका छन ।
धाँधलीका आधारहरु
६० लाख भन्दा बढी मतपेटिका छपाउनु,प्रत्यक्ष भन्दा समानुपातिकमा १३ लाख बढी मतदान हुनु,राजनीतिक दलका प्रतिनिधि विना नै मतपेटिका मतदानकेन्द्रदेखि मतगणनास्थलसम्म पुरयाउनु,त्यो अवधिमा घण्टौसम्म मतपेटिका सशस्त्र र नेपाली सेनाको नियन्त्रणमा रहनु, मतपेटिकामा मतपत्रका सिङगै गडडी भेटिनु,मतपेटिका छोप्न प्रयोग गरिएको कपडा मतगणनास्थलसम्म पुग्दा खुला हुनुले निर्वाचनको नजिता निर्माणमा धाँधली भएको भन्न सकिन्छ । त्यति मात्रै होइन,मतपेटिकाका सिलहरु यत्रतत्र सर्वत्र छरिएको भेटिनु,सुगम र सहरी क्षेत्रमा मतदानभएकै दिन साँझबाट मतगणना नगरी भोलिपल्ट मात्रै मतगणना थाल्नु,मतदानकेन्द्रमा बनाइएको मुचुल्कामा भन्दा मतगणनास्थलमा मतको संख्या बढी भेटिनुले पनि निर्वाचनको नजिता निर्माणमा धाँधली भएको बुझन सकिन्छ । अपराध गर्नेले प्रमाणका आधार छोडेको हुन्छ भनेको यहि हो । माथिका तथ्यहरु नै निर्वाचनको नतिजा निर्माणमा धाँधलीका आधार हुन । एकीकृत माओवादीसहित निर्वाचनमा भाग लिएका दलहरुले उच्चस्तरिय छानवीन आयोग गठन गर्न माग गरिरहदा सरकार किन चुप छ ? त्यस्तो छानवीन आयोग बनाउन सरकारले तत्परता नदेखाउनुले पनि धाँधली प्रति थप आशंका बढन थालेको छ ।
एकीकृत माओवादीका नेता कार्यकर्ता यतिवेला ‘बाहिरी कारणहरु परिवर्तनका सर्त हुन र आन्तरिक कारणहरु परिवर्तनका आधार हुन’भन्ने चिनिया कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङका भनाई सम्झन थालेका छन । रुसमा लेनिनले संबिधानसभाका लागि गरेको संघर्ष,संबिधानसभाको गठन,बिघटन र जनबिद्रोहको इतिहास पनि एकीकृत माओवादीका नेता तथा कार्यकर्ताका मानसपटलमा स्मरण हुन थालेका छन ।
बस्तुको बिकास र बिनाशमा आन्तरिक कारण नै प्रधान हुन्छ र बाह्य कारण त्यसका वातावरण मात्रै हुन । एकीकृत माओवादीका नेता कार्यकर्ताले यहि दर्शनमा टेकेर आत्मसमीक्षा गर्नु पर्दछ । एकीकृत माओवादीलाई पराजय गराईनुमा आन्तरिक र बाह्य दुवै कारण छन ।
आन्तरिक समीक्षा
आन्तरिक पार्टी प्रणाली सम्वादहिनताको अवस्थामा रहनु,नङ र मासुको सम्बन्ध हुनु पर्ने नेता कार्यकर्ता वीच जोगी देखि भैसी डराउने भैसीदेखि जोगी डराउने अवस्थामा औपचारिक सम्बन्ध रहनु र हार्दिकता नरहनु,कम्युनिष्ट पार्टीका तीन अंगहरु पार्टी,सेना र मोर्चा एकताबद्ध नहुनु,संरचनाहरु क्रियाशिल नभई भद्दा,निष्क्रिय रहनु,चार बर्षदेखि आन्तरिक पार्टी जीवन कथित अन्तरसंघर्षमा रुमल्लिनु,एक अर्को प्रति हिलो छयाप्ने र तास्नेमा बढी सक्रिय हुनु,कमिटी भित्रका बहस सडकमा छताछुल्ल हुनु,पार्टी भित्रका बिषय बिपक्षीका मुख्यालयमा तत्कालै पुग्नु,गोपनीयता र फलामे अनुशासन कमजोर हुँदै पार्टी चाल्नोको रुपमा बिकास हुनु आन्तरिक कारण हुन । त्यति मात्रै होइन,केन्द्रीय कार्यालय सधै क्रियाशिल रहनु,केन्द्रीय कार्यालयले हासिल गरेका राजनैतिक कमाण्ड र पहलकदमीलाई लागू गराउनतिर लाग्नुको सट्टा मातहतका कमिटीहरु रमिते बनेर बस्नु,केहि शिर्ष नेता निरन्तर क्रियाशिल हुनु,पोलिटव्यूरो,केन्द्रीय समिति,राज्य समिति,जिल्ला समिति,गाउँ समितिका सदस्यहरु बेरोजगार हुनु पनि आन्तरिक कमजोरी हुन । आदेश पर्खने र सिर्जनात्मकता गुमाउने प्रबृत्ति केन्द्रदेखि पार्टी सदस्यसम्म रहनु,पार्टी गुट,उपगुट र संयुक्त मोर्चामा बदलिनु,बिभाजित पार्टीमा तदर्थवाद,अकर्मण्यता र निर्वाहमुखी कार्ययोजना हुनु पनि पार्टीका कमजोरी हुन ।
पार्टी भित्र दण्ड र सजायको  व्यवस्था नहुनु,भ्रष्ट र दलाल जे सुकै भएपनि पार्टीमा प्रवेश गराएर कुनै परिक्षण विना जिम्मेवारी दिनु,पूराना इमान्दार नेता तथा कार्यकर्तालाई बाँच्न र राजनीति बचाउन धौ धौ भएर खाडी मुलुकमा पलायन हुनु,आयातित कार्यकर्ता नेताका वरीपरी घुम्ने वातावरण बनाइनु पनि पार्टीका कमजोरी हुन । इमान्दार र क्षमतावानलाई पाखा लगाएर गुटको आधारमा भागवण्डाको संस्कृति मौलाउनु,पार्टीबाट मन्त्री र सभासद भएकाहरु गाउँ फर्केर नजाउनु,मन्त्री र सभासदलाई आफनो स्वार्थ सिद्ध गर्ने लाइसेन्स बनाउनु,पार्टीका नयाँ नीति योजनाका वारेमा तत्कालै जनता र कार्यकर्तालाई जानकारी नगराइनु पनि पार्टीका कमजोरी हुन ।
बाह्य कारण
आफना राजनीतिक एजेण्डा जनता र कार्यकर्ताले बुझने खालका नहुनु,आफना ऐजेण्डा अपभ्रम्स गरी बिपक्षीले जनतालाई भ्रमित तुल्याउन सफल हुनु,सेना,प्रधानन्यायधिश र कर्मचारीलाई सत्ताको साँचो बुझाएर क्रान्तिकारी कम्युनिष्ट पार्टी शान्तिदुत बनेर निर्वाचनमा जानु,सेना समायोजना र संबिधान निर्माणलाई एक अर्काका परिपूरक बनाउन नसक्नु,घाइते,वेपत्ता,सहिद परिवारका समस्यालाई राज्यद्धारा सम्बोधन गर्न नसक्नु,पूर्व जनमुक्ति सेनाका योद्धाहरुलाई आर्थिक,सामाजिक,राजनीतिक र साँस्कृतिक रुपमा व्यवस्थित गर्न नसक्नु, साम्राज्यवादी तथा बिस्तारवादीसँग कुटनीतिक प्रयासद्धारा आफनो वर्ग अनुकुल हस्तक्षेप गर्न नसक्नु बाह्य कारण हुन । पार्टीका योजना साम्राज्यवादी तथा बिस्तारवादीका मुख्यालयमा तत्कालै पुग्नु,सेना,प्रहरी र प्रशासनका मान्छेहरुसँग संघर्ष र एकताको बिधिबाट अघि बढन बिर्सनु,आन्तरिक पार्टी संगठन बिग्रिएका कारण बिपक्षीलाई धाँधली गर्न सजिलो हुनु,पार्टीका नेता तथा कार्यकर्ता जनसभा,भेला,र्याली र प्रदर्शनमा व्यस्त हुनु,बिपक्षीले गर्न सक्ने षडयन्त्रका सूचना पत्ता लगाएर त्यस अनुसारको योजना कार्यान्वयन गर्न नसक्नु पनि बाह्य कारण हुन ।
क्रान्तिकारी योद्धा आफनै जिविकोपार्जन गर्ने अन्यौलमा नवआगन्तुक दृश्यमा देखिनु,सञ्चारमाध्यमलाई आफनो अनुकुल परिचालनका लागि ध्यान नदिनु र सहमतीय प्रणाली छोडेर बहुमतीय प्रणालीमा अगाडि बढनु पनि पार्टीका बाह्य कमजोरी हुन ।
अव के गर्ने ?
राजनीतिक रुपमा संबिधानसभालाई क्रान्तिको साधनको रुपमा प्रयोग गरी जनवाद िक्रान्तिको बाँकी कार्यभार पूरा गर्ने बिषयमा कार्यनीतिक श्रृङखलाको समीक्षा गर्ने,सत्ता पक्षमा रहेका काँग्रेस एमालेका गलत क्रियाकलापको भण्डाफोर गरी प्रतिपक्षमा बस्ने,सत्तामा जाने चाहना नराख्ने,आफना एजेण्डाका बिषयमा व्यापक जनतासँंग खुला बहस गर्ने,अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुसँग कुटनीतिक पहलका लागि विगतका कमजोरीको समीक्षा गर्दै थप योजना बनाइ कार्यान्वयन गराउने अवको कार्यनीति हुनुपर्छ । त्यति मात्रै होइन,पार्टीको हेडक्वार्टरलाई बिषयगत ज्ञान भएका इमान्दारहरुको टीमसहितको सचिवालय बनाउने,जो जहाँबाट उम्मेदवार भयो त्यहिबाट जनप्रतिनिधिको रुपमा काम गर्ने,धाँधली र षडयन्त्रको पर्दाफास गर्दै जनतालाई सचेत गराउने,पार्टी,सेना र मोर्चालाई नयाँ ढंगले पुनरसंरचना गर्ने,कार्यदिशा अनुसारको संगठन निर्माण गर्ने,जनवादको अभ्यास गर्ने थलो संगठनलाई बनाउने, प्रत्येक जिल्ला कमिटीसँग हेडक्वार्टरसहितको बैठक बस्ने त्यहाँका गुनासा सुन्ने र निर्णय गरी कार्यान्वयन गर्न निर्देशन दिने नीति अवलम्बन गरिनुपर्दछ । गुट,उपगुटको खारेजी नेताहरुबाट शुरु गर्ने,बार्गेनिङ र घुर्कीको आधारमा बाँडफाँड गर्ने र तल लादने प्रणाली खारेज गर्ने,एउटा मापदण्ड पूरा गरी सरुवा र बढुवा गर्ने संस्कारको बिकास गर्ने,स्थानीय व्यक्तिलाई सम्बन्धित ठाउँमा नै संगठित गराउने,सरकारको मोर्चा छोडेर सदन र सडकको मोर्चालाई सशक्त बनाउने नीति अवलम्बन गर्न पनि पार्टी चुक्नु हुन्न । अधिकारी अखिल क्रान्तिकारीका सचिव हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us