‘उत्तर कोरियाका शक्तिशाली नेता पदच्युत’

काठमाण्डु टुडे २०७० मंसिर १९ गते ३:१४ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– उत्तर कोरियामा प्रभावशाली एक वरिष्ठ नेतालाई पदबाट हटाईएको खबर सार्बजनिक भएको छ । जासुसी रिपोर्टलाई आधार मान्दै दक्षिण कोरियाबाट प्राप्त समाचार अनुसार उत्तर कोरियाको सर्वोच्च सैनिक संस्थानका उपाध्यक्ष चांग सांग थाएकलाई पदच्युत गरिएको हो ।

खबरहरुका अनुसार चांगका दुईजना सहयोगीहरुलाई भष्ट्राचारको अभियोगमा फाँसीको सजाय समेत दिईएको छ ।

उत्तर कोरियामा दोस्रो सबैभन्दा शक्तिशाली मानिने पदमा रहेका चांग उत्तर कोरियाका वर्तमान राष्ट्रपति किम जोङ उनका फुपाजु पनि हुन् । चांगको विवाह पूर्वराष्ट्रपति किम जोङ ईलकी बहिनीसँग भएको छ ।

दक्षिण कोरियाबाट प्राप्त समचारमा यदि सत्यता छ भने बुवा किम जोङ ईलको स्वार्गारोहणपछि किम जोङ उनले सत्ता सम्हाले यता उत्तर कोरियाको राजनीतिमा भएको यो सबैभन्दा ठूलो उथल पुथल हुनेछ । तर, यस खबरको आधिकारिक पुष्टि हुन सकेको छैन । उत्तर कोरियाबाट निकै कम समाचार बाहिर आउने हुँदा यस्कोे स्वतन्त्र पुष्टि सम्भव नभएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । दक्षिण कोरियाको जासुसी संस्था राष्ट्रिय गुप्तचर सेवा एनआईएसको रिपोर्ट आधारमा यो समाचार जारी गरिएको हो । तर विगतमा एनआईएसका गुप्तचर रिपोर्टमा आधारित कतिपय दावीहरु झुठा सावित भएका छन् ।

चांग उत्तर कोरियाको सत्ताधारी कम्युनिष्ट पार्टीको महत्वपूर्ण सदस्य हुन् । उनले राष्ट्रिय सुरक्षा आयोगमा महत्वपूर्ण जिम्मेवारी पनि सम्हाली सकेका छन् । चांगलाई वर्तमान राष्ट्रपति उनको निकै नजिकका सहयोगी र राजनीतिक सल्लाहकार पनि मानिन्छ । उनी र उनकी श्रीमतीलाई कोरियाली शासनको वास्तविक शक्तिकेन्द्र समेत मानिँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us