‘नेतृत्व कसले गर्छ भन्ने घाम झैं छर्लङ्ग छ’

काठमाण्डु टुडे २०७० मंसिर १८ गते ११:४९ मा प्रकाशित

post bahadur reporters club nepalकाठमाण्डु, १८ मंसिर- संविधानसभाको निर्वाचनबाट पहिलो र दोस्रो भएको काँग्रेस र एमालेबीच राष्ट्रपति फेर्ने नर्फेर्नेबार अझै पनि एक मत हुन सकेको छैन । त्यस्तै सरकार गठन कसले र कसरी गर्ने भन्नेमा पनि अझै अन्योल रहेको नेताहरुको अभिव्यक्तिबाट बुझिएको छ ।

मंगलबार रिपोटर्स क्लवमा भको साक्षात्कारमा बोल्दै काँग्रेस तथा एमाले लगायतका दलहरुका नेताहरुले आ–आफ्ना धारणा राखेका हुन् । एमाले राष्ट्रपति नफेरि अगाडि नबढ्ने मनस्थितिमा रहेको देखिएको छ भने काँग्रेस यथास्थितिमा अघि बढ्ने अडानमा छ ।

घाम झैं छर्लङ्ग छ

साक्षत्कारमा काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतिक र पदीय दुवै हिसाबमा काँग्रेसको नेतृत्व स्पष्ट भएको दावी गर्दै भने, ‘काँग्रेसबाट सरकारको नेतृत्व कसले गर्छ घाम जत्तिकै छर्लङ्ग छ । राजनीतिक रुपमा हेर्नुस र पार्टीभित्र पदीय हिसाबमा हेर्नुस प्रमुख व्यक्तिले नै नेतृत्व गर्नु हुन्छ ।’

संविधान निर्माण गरुन्जेलसम्मको लागि काँग्रेस र एमालेसहित प्रमुख दलहरु सम्मिलित भएको सहमतिको सरकार बनाएर अघि बढ्नु पर्ने भन्दै डा. रिजालले त्यसपछि भने काँग्रेस र एमालेमध्ये एक प्रमुख प्रतिपक्ष भएर मुलुक चलाउनु पर्ने जिकिर पनि गरे । उनले भने, ‘संविधान बनेपछि मुलुक चलाउन सशक्त प्रतिपक्ष चाहिन्छ । त्यसको लागि काँग्रेस र एमालेमध्ये एक प्रतिपक्ष बस्नु पर्छ ।’

संविधान निर्माणका विषयमा पहिला भइसकेका सहमतिमा फेरि संशोधन गर्न खोजे अब काँग्रेस र एमालेको पनि माओवादीको जस्तै हालत हुने उनको भनाइ थियो ।

जे गर्दा संविधान बन्छ त्यही गर्ने

त्यस्तै एमालेका नेता भिम रावलले पार्टीले राष्ट्रपति परिवर्तन गर्नु पर्छ भनि बाहिर आएको विषयमा कुनै निर्णय नगरेको स्पष्ट पार्दै सबै विवादित विषयहरुमा सहमति गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

उनले संविधान नबनाउने कुरा कसैले गर्न नहुने भन्दै दलहरुबीच संविधान समयमै बन्न सहायक हुने गरी सहमति कायम गर्नु पर्ने बताए । रावलले भने, ‘के गर्दा संविधान बन्छ त्यही गर्नु पर्छ संविधान नबन्ने गरी विवाद निकाल्नु हुँदैन । हामी पनि त्यसैमा छौं ।’

छानबिन नभए पुर्नविचार हुँदैन

एकीकृत नेकपा माओवादीका नेता पोष्टबहादुर बोगटीले निर्वाचनमा षडयन्त्रमुलक रुपमा सुनियोजित धाँधलीपूर्ण भएको भन्दै निष्पक्ष छानविन र आन्दोलनको एजेण्डालाई संस्थागत गर्ने गरी संविधान निर्माण गर्ने गरी सहमतिको लागि संविधान संसोधन गरे मात्रै आफूहरुले संविधानसभामा जाने विषयमा पुर्नविचार गर्न सक्ने बताए ।

उनले कम्तिमा पनि सहमतिमा परिवर्तनका एजेण्डा संस्थागत गर्ने विषयमा १२ बुँदे र विस्तृत शान्ति सम्झौताका पक्षधर दलहरुवीच सहमति बन्नु पर्ने भन्दै आफूहरुको ती माग पुरा नभए यथास्थितिमा संविधानसभामा जान गाह्रो हुने स्पष्ट पारे ।

निर्वाचनको पूर्व सन्ध्यामा जारी १० बुँदे परिपत्र, मतपेटिका सिल टुटेको, आकार सानो ठूलो अवस्थामा भेटिनु, हस्तक्षर नमिल्नु , मतपेटिका र मत जलेको अवस्थामा भेटिनुले निर्वाचनमा धाँधली भएको पुष्टि भएको भनदै यथास्थितिमा आफूहरुले सरकार र राष्ट्रपतिको विषयमा कुनै निर्णय गर्न नसक्ने बताए ।

फुलस्टप पनि फेरिँदैन

राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले ताजा जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनु पर्ने बताए पनि आफूहरु त्यो निर्वाचनमा उम्मेदवार भने नबन्ने स्पष्ट पारे ।

आफूहरुले घोषणापत्रमा उठाएको राजासहितको प्रजातन्त्र र धर्मको सवालमा कमा र फुलस्टप समेत परिवर्तन नगर्ने अडान व्यक्त गरेपनि उनले संविधान निर्माणका लागि सहमति र सम्झौताको आधारलाई भने पार्टी स्विकार गरेर रचनात्मक भूमिका खेल्ने बताए ।

विवादमा अल्झिन नहुने

राप्रपाका महामन्त्री दिपक बोहराले अहिले जनताले संविधान लेख्न म्याण्डेड दिएको राष्ट्रपतिको निर्वाचनको विवादमा नअल्झिन आग्रह गर्दै आफूहरु राष्ट्रपति परिवर्तनको पक्षमा नभएको बताए ।

उनले काँग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण हुनुपर्नेमा जोड दिदै काग्रेस एमाले सहितका प्रमुख दलको धेरै एजेण्डाहरु मिलेकोले अब संविधान निर्माणमा खासै अप्ठ्यारो नपर्ने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us