टेलिमेडिसिनले ल्यायो गाउँमा खुशी

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १०:२३ मा प्रकाशित

telemedicineलमजुङ, १४ मंसिर– पश्चिम लमजुङको विकट मानिने भोजे गाउँ विकास समितिमा टेलिमेडिसिन सेवा सञ्चालनमा आएको छ । जिल्ला विकास समिति लमजुङ, भोजे गाउँ विकास समिति र कोम्रो घाम्राङ आमा समूहको समन्वय तथा सहयोगमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएको हो ।

स्वास्थ्य सेवाको पहुँच पर्याप्त नभएको भोजे गाविसका नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने तथा विशेषज्ञ डाक्टरहरुसँगको परामर्शमा उपचार गराउने उद्देश्यले सो सेवा सञ्चालन गरिएको हो । टेलिमेडिसिन सेवाका लागि जिविस लमजुङ र नेपाल वायरलेसको प्राविधिक सहयोग गरेका छन् । टेलिमेडिसिन सेवा सञ्चालनपश्चात भोजे र आसपासका समेत गरी झन्डै चार हजारभन्दा बढी नागरिक लाभान्वित भइसकेका छन् ।

प्राथमिक उपचारबाट वञ्चित स्थानीयवासीले अब टेलिमेडिसिन सेवाबाट उपचार पाउन थालेपछि हर्षित भएका छन् । गाउँमै बसेर कम खर्चमा विशेषज्ञसँगको परापर्श सेवा पाउन तथा दीर्घ रोगहरुको उपचारका लागि सहज भएपछि गाउँले खुसी भएका स्थानीय समाजसेवी गमप्रसाद गुरुङले बताए ।

गाउँमा टेलिमेडिसिन सञ्चालनका लागि स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ । न्यूनतम् स्वास्थ्य सेवा नपाइएको अवस्थामा उक्त गाउँमा रहेका युवा क्लब तथा आमा समूहहरुको सक्रियतामा स्वास्थ्य क्लिनिक स्थापना गरिएको हो । जनातालाई प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय लमजुङमा करुणा सामुदायिक स्वास्थ्य क्लिनिक दर्ता गरी सञ्चालनमा ल्याइएको छ ।

क्लिनिकका लागि जिविस लमजुङको ड्रिलिप परियोजनाबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त भएको थियो । क्लिनिक भवनका लागि विभिन्न दातृ निकाय र देश विदेशमा रहेका स्थानीय नागरिकले चन्दा दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us