एमाओवादीको पराजयले महिलालाई घाटा

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १७:०३ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर–यसअघिको प्रत्यक्ष तर्फ ३० जना महिला निर्वाचित भएर आएकाले संविधानसभामा महिलाको सहभागिता सम्मानजनक थियो । महिलाले ३३ प्रतिशत आफूहरुको सहभागिता हुनु पर्ने माग गरिरहेका बेला प्रत्यक्षबाट ३०, समानुपातिकबाट १ सय ६१ र मन्त्रिपरिषद्बाट मनोनित ६ जना गरी १ सय ९७ जना महिला अघिल्लो संविधानसभामा पुगेका थिए ।

त्यतिबेला एकीकृत नेकपा माओवादीबाट सबैभन्दा धेरै ७९ जना महिला संविधानसभामा प्रवेश गर्न सफल भएका थिए । त्यसको कारण थियो एकीकृत माओवादीले सबैभन्दा बढी ४३ जना उम्मेदवार उठाएकोमा २४ जनाले प्रत्यक्ष चुनाव जिते । तर अहिले एकीकृत नेकपा माओवादीको पराजयले सबैभन्दा बढी महिला सहभागितालाई चुनौती दिएको छ । महिलालाई नै घाटा लागेको छ ।

प्रत्यक्ष तर्फ २९ जना महिला अघि सारेको माओवादीका एकजना महिला मात्र (ओनसरी घर्ती रोल्पा क्षेत्र नम्बर २ बाट) चुनाव जित्न सफल भएकी छन् । २५ जनालाई चुनावी प्रतिष्प्रर्धामा पठाएको कांग्रेसका ६ जनाले चुनाव जित्न सफल भए भने २७ जना प्रतिष्प्रर्धामा रहेका एमालेका ३ जना महिलाले मात्र चुनाव जिते । त्यसैले विगतको तुलनामा माओवादी धेरै ठाउँमा पराजित भएका कारण यसपटक महिला सहभागित निक्कै न्यून हुने भएको हो । हुनत समानुपातिक र मनोनितको प्रकृया अझै बाँकी छ तर विगतको जति हुने सम्भावना निक्कै न्यून छ ।

शिर्ष नेतासँग महिला

माओवादी पार्टीको पराजयसँगै यसपटकको संविधानसभामा महिला सहभागिता कम हुनुको अर्को कारण शिर्ष नेतासँग महिला भिडाउनु देखियो । प्रत्यक्ष र समानुपातिक तर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउनु पर्ने वाध्यकारी प्राब्धानका कारण महिला अघि सारे पनि ढुक्कसँग जित्ने आधार नभएका ठाउँमा शिर्ष नेतासँग महिला प्रतिष्प्रधि बनाइयो । कांग्रेस एमालेका प्राय सबै शिर्ष नेताले चुनाव जिते । तर उनीहरुसँग भिडेका महिला चुनाव जित्न सफल भएनन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भिडाइएकी कांग्रेसकी प्रतिमा गौतमले काठमाण्डु २ बाट चुनाव हारिन् । कांग्रेस महामन्त्री प्रकाशमान सिंह उठेको काठमाण्डु क्षेत्र नम्बर १ बाट एमाओवादीकी रेणु दाहाल र एमालेकी विद्या न्यौपानेले चुनाव जित्न सकेनन् । एमाले अध्यक्ष झलनाथ खनालसँग सर्लाही १ मा लडेकी कांग्रेसकी सुशीला कार्की, कैलाली ६ मा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँग चुनाव लडेकी एमाओवादीकी लिला भण्डारी, झापा ३ बाट कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलासँग भिडेकी एमाओवादीकी धर्मशिला चापागाई यसपटक चुनाव जित्न सफल भइनन् ।

पहिलो संविधानसभामा पूर्णाकुमारी सुवेदी उपाध्यक्ष भएकी थिइन् । जयपुरी घर्ती, कमला पन्त, थममाया थापा, प्रतिभा राणा, जनककुमारी चालिसे, कल्पना राणाले सफलता पूर्वक सचेतकको भूमिका निर्वाह गरेका थिए । तर अहिले केही समानुपातिकबाट संविधानसभामा छिर्ने सम्भावना रहेपनि धेरै बाहिरै पर्ने भएका छन् ।

चुनाव जित्नेहरु

Onsari Ghartiअघिल्लो संविधानसभामा सबैभन्दा धेरै २४ जनाले प्रत्यक्षमा चुनाव जितेर आए पनि यो पटक भने एमाओवादीकी एकमात्र महिला ओनसरी घर्तीमगरले चुनाव जितेकी छन् । घर्तिमगर अघिल्लो पटक समानुपातिक तर्फबाट सभासद् बनेकी थिइन् । एमाओवादीको केन्द्रीय सदस्य तथा नेवाः राज्य समितिको सहसचिव समेत भइसकेकी उनी यसपटक रोल्पा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कुमार दसौदीलाई पराजित गर्दै विजयी भएकी हुन् । घर्तीमगरले १४ हजार ९ सय ६४ मत प्राप्त गर्दा दसौदीले ९ हजार ३ सय ७४ मत प्राप्त गरे ।

Sushila Chaudhariयसपटक कांग्रेसको तर्फबाट सबैभन्दा धेरै ६ महिला चुनाव जित्न सफल भएका छन् ।२०२५ सालमा दाङको सिसहनिया ९ मा जन्मेकी सुशीला चौधरी यसअघि सभासद् भइसकेकी एमालेकी शान्ता चौधरीलाई पराजित गर्दै १० हजार ४ सय ३० मतका साथ विजयी भइन् । २०५४ सालदेखि राजनीतिमा सकृय भएकी सुशीला कांग्रेसको महासमिति सदस्य हुन् ।

kiram kumari yadavत्यस्तै २०२४ साल भदौ १२ गते जनकपुर धनुषामा जन्मेकी किरणकुमारी यादवले राष्टिय मधेस समाजवादी पार्टीका जयलुल राइनलाई पराजित गर्दै विजयी भइन् । राष्टपति डा. रामवरण यादवकी भतिजि यादवले ७ हजार ३ सय ५७ मत प्राप्त गरिन् भने राइनले ५ हजार ५ सय २३ मत पाएका थिए । कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेकी यादव अघिल्लो संविधानसभामा समानुपातिक तर्फको सूचीमा रहे पनि सभासद् बनाइएको थिएन ।

Parbati DC२०२३ सालमा दाङको लेटार जनकपुरमा जन्मेकी पार्वती डीसी चौधरीले एमालेका रेवतीरमण घिमिरेलाई पराजित गरिन् । चौधरीले ८ हजार ७ सय १९ मत ल्याउँदा घिमिरेले ७ हजार ७५ मत प्राप्त गरे । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातक गरेकी चौधरी २०३६ सालदेखि नेविसंघबाट राजनीति शुरु गरेकी हुन् । नेपाल महिला संघ दाङको जिल्ला सदस्य समेत रहेकी चौधरी कांग्रेसको केन्द्रीय सदस्य हुन् । यसअघि पनि समानुपातिकको सूचीमा राखेको कांग्रेसले सभासद् भने बनाएको थिएन ।

Sarada Poudelयस्तै कांग्रेसकै शारदा पौडेल कास्की २ बाट ११ हजार ६ सय ६१ मत,  सिरहा ३ बाट सीता यादव ११ हजार १ सय ५० र बाग्लुङ ३ बाट ज्ञानकुमारी छन्त्याल १० हजार ७९ मत प्राप्त गरि विजयी भए । Sita Giri

एमालेको तर्फबाट विजयी हुने महिलामा कास्की ४ बाट सीता गिरीले १५ हजार ४ सय ३८, उदयपुर २ बाट मञ्जु चौधरीले ७ हजार ५ सय ३४ र बारा ४ बाट नजमा खातुनले १२ हजार ३ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् । गोली हानी हत्या गरिएका उनका श्रीमानको स्थानमा एमालेले खातुनलाई उम्मेदवार बनाएको थियो ।Gyan Kumari

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us