
तानसेन, १३ मंसिर–संविधानसभा निर्वाचनमा पाल्पाका २६ जना उम्मेदवारको धरौटी जफत भएको छ । कुल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारहरूको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार पाल्पामा २६ जना उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मुक्तिराम रिजालले जानकारी दिए ।
अखण्ड नेपाल, राप्रपा, राप्रपा नेपाल, आमा पार्टी, नेपाल परिवार दल, दलित जनजाति, जनमोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी लगायतका उम्मेदवारको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । धरौटी सुरक्षित गर्नेहरूमा एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले)का उम्मेदवार रहेका छन् ।
जिल्लामा सत्र दलका ३४ जनाले उम्मेदवारी दिएकामध्ये २६ जनाको धरौटी निर्वाचन कार्यालयले जफत गरेको हो । एकीकृत नेकपा (माओवादी)बाट पाल्पा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तेजबहादुर सिजाली मगरले दुई हजार ७६० मत प्राप्त गरेका थिए । यो मत कुल खसेको ३३ हजार ७१७ को झन्डै आठ प्रतिशत मात्र मत देखिएकाले सिजालीको समेत धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाल्पा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा एकीकृत नेकपा (माओवादी)का वसन्त शर्मा र नेपाली काँग्रेसका वीरबहादुर राना भने धरौटी जफत हुनबाट जोगिएका छन् । यसैगरी क्षेत्र नं. ३ मा एकीकृत नेकपा (माओवादी)का नेत्र पाण्डेय र नेकपा (एमाले)का कुलप्रसाद नेपाल सिज धरौटी जफत हुनबाट जोगिएका छन् । रासस