थाइल्यान्डमा आपतकाल घोषणा

काठमाण्डु टुडे २०७० मंसिर ११ गते २:०० मा प्रकाशित

Yingluck-Shinawatraबैङ्कक, ११ मंसिर–विद्रोहीहरुले अर्थ र विदेश मन्त्रालय नियन्त्रणमा लिएपछि थाइल्याण्डमा आपतकालिन अवस्था घोषणा गरिएको छ । सरकारले प्रधानमन्त्री यिङलक सिनावात्राका दाजु तथा र पूर्वप्रधानमन्त्री थाक्सीन सिनावात्रालाई आममाफी दिने उद्देश्यले कानुन ल्याउने तयारी गरेपछि प्रतिपक्षीहरुले आन्दोलन चर्काएका छन् । सुथेप थाउगसुबानको नेतृत्वमा सयौं प्रदर्शनकारीहरूले आन्दोलन चर्काउँदै गएपछि यिङलक नेतृत्वको सरकार संकटमा परेको छ ।

थाइल्याण्डको प्रतिपक्षी डेमोक्र्याटिक पार्टीले मङ्गलबार प्रधानमन्त्री यिङलक सिनावात्राविरुद्ध अविश्वासको प्रस्तावसमेत पेश गर्दैछ ।

प्रधानमन्त्री सिनावात्रालाई पद नछाडेसम्म थप सरकारी भवन नियन्त्रण गर्ने आन्दोलनकारीले चेतावनी दिएका छन् । सुथेपले प्रदर्शनकारीलाई सम्बोधन गर्दै प्रधानमन्त्री थाकसिनलाई शासन गर्ने वैधानिक अधिकार नभएको देखाउन सबै मन्त्रालय नियन्त्रणमा लिइने चेतावनी दिए ।

प्रधानमन्त्री यिङलकले भने राजिनामा नदिने र संसद पनि विघटन नगर्ने अडान राखेकी छन् ।

थाइल्यान्डमा आममाफी दिने कानुन असफल भएपछि हालका दिनहरूमा सरकार विरोधी प्रदर्शनहरू हुन थालेका छन् । थाइल्यान्डमा प्रधानमन्त्री यिङलक तथा उनका दाजु अपदस्थ प्रधानमन्त्री थाकसिन सिनावात्राको विरोधमा सन् २०१० पछि ठूला प्रदर्शन हुँदै आएका छन् । प्रदर्शनको क्रममा ९० भन्दा बढी व्यक्तिको मृत्यु भैसकेको छ । थाकसिनलाई राजावादी सैनिक जनरलहरूले सन् २००६ मा पदमुक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us