कञ्चनपुरमा बदर मत कम

काठमाण्डु टुडे २०७० मंसिर ८ गते ९:०३ मा प्रकाशित

कञ्चनपुर, ८ मंसिर– गत संविधानसभा निर्वाचनको भन्दा अहिलेको निर्वाचनमा बदर मत सङ्ख्यामा कमी आएको छ । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनभन्दा अहिलेको संविधानसभा निर्वाचनमा बदर मत सङ्ख्यामा कमी आएको हो ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार प्रत्यक्षतर्फ पहिलेको निर्वाचनभन्दा अहिले ९३६ ले कमी आएको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी निमराज भट्टराईले गत वर्षको संविधानसभामा आठ हजार ७२० मत सङ्ख्या बदर भएका थिए भने हाल सात हजार ७८४ मत सङ्ख्यामात्रै बदर भएका छन् ।

अघिल्लो निर्वाचनमा क्षेत्र नं १मा एक हजार ५९२ मत बदर भएका थिए, भने हाल एक हजार ५०३ मात्रै मत बदर भएका छन्, निर्वाचन क्षेत्र नं २ मा अघिल्लो संविधानसभा निर्वाचनमा दुई हजार ९४२ मत बदर भएका थिए भने हाल ५३९ ले घटेर दुई हजार ४०३ मा झरेको छ । यस्तै निर्वाचन क्षेत्र नं ३ मा अघिल्लो निर्वाचनभन्दा अहिलेको निर्वाचनमा बदर १३९ मत घटेको छ । अघिल्लो निर्वाचनमा दुई हजार ९३ मत बदर भए भने हाल एक हजार ९५४ मतमात्रै बदर भएका छन् ।

यसैगरी निर्वाचन क्षेत्र नं ४ मा पनि गत वर्षको भन्दा हाल बदर मत सङ्ख्या घटेको छ । १६९ ले मत सङ्ख्या घटेको छ, अघिल्लो निर्वाचनमा दुई हजार ९३ मत बदर भएकामा हाल एक हजार २४ मात्रै मत बदर भएका छन् । अघिल्लो  निर्वाचनमा  क्षेत्र नं २ मा सबैभन्दा बढी दुई हजार ९४२ मत बदर भएका थिए भने हालको निर्वाचनमा पनि निर्वाचन क्षेत्र नं २ मै बढी मत बदर भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us