चीन–जापान क्षेत्रीय विवाद बढ्ने संकेत

काठमाण्डु टुडे २०७० मंसिर ८ गते ७:४८ मा प्रकाशित

बेइजिङ– बेइजिङले शनिबार जापानले नियन्त्रण गरेका तथा चीनले दाबी गरेको द्वीपहरू समेटर‘हवाइ प्रतिरक्षा पहिचान क्षेत्र’स्थापना गर्ने घोषणा गरेको छ । यसले त्यस क्षेत्रमा झनै क्षेत्रीय विवाद बढाउने अनुमान गरिएको छ ।
चिनियाँ प्रतिरक्षा मन्त्रालयले पूर्वी चीन जलक्षेत्रमा यस प्रकारको क्षेत्र स्थापना गर्दै विमान पहिचान नियम तय गरेको छ र त्यस क्षेत्रमा प्रवेश गर्ने सबै विमानले त्यसलाई पालना गर्नुपर्ने बताइएको छ । यस अवस्थामा सेनाले हस्तक्षेप गर्न सक्ने पनि उल्लेख गरिएको छ ।
विमानहरूले उक्त क्षेत्रमा प्रवेश गर्दा उनीहरूको उडान योजना, राष्ट्रियता उल्लेख गर्नुपर्ने र दुई पक्षीय रेडियो सञ्चार कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । चिनियाँ अधिकारीहरूले यस्ता सञ्चार समयमै तथा सही रूपमा हुनुपर्ने बताइएको छ ।japan and china flag
नयाँ क्षेत्रको विवरण मन्त्रालयको वेबसाइट तथा राज्यको ट्विटर एकाउन्टमा दिइएको छ । यसमा दक्षिण कोरियादेखि ताइवानसम्मको पूर्वी चीन जल क्षेत्र परेका छन् । यस क्षेत्रमा टोकियोको नियन्त्रणमा रहेको सेनकाकु वा चीनले दाबी गरेको दियाओयु द्वीप परेका छन् ।
मन्त्रालयले पहिचानको यस प्रकारको प्रक्रियालाई सहयोग नगर्ने वा त्यसपछिको निर्देशनलाई पालना नगर्ने विमानमाथि प्रतिरक्षात्मक आपत्कालीन उपाय अवलम्बन गरिने उल्लेख गरेको छ ।
यो क्षेत्र शनिबार बिहान १० बजेदेखि लागु हुने बताइएको छ । शुक्रबार चार चिनियाँ तटरक्षक डुङ्गाहरू सेनकाकुको जलक्षेत्रमा प्रवेश गरेको बताइएको छ ।    जापानी प्रतिरक्षामन्त्री इत्सुनोरी ओनोदेराले अक्टोबर महिनामा निरन्तर उक्त क्षेत्रमा प्रवेशले त्यसलाई शान्त क्षेत्र नबनाउने र त्यो आपत्कालको अवस्था नजिकै पर्ने बताउनुभएको थियो ।
केही दिन अगाडि चिनियाँ प्रतिरक्षा मन्त्रालयले आफ्ना चालकविहीन विमानमाथि आक्रमण ‘युद्धको कार्य’ हुने चेतावनी जापानलाई दिएको थियो ।
यसअघि जापानले आफ्नो हवाइ क्षेत्रको उल्लङ्घन गर्ने विमानमाथि आक्रमण गरिने योजना बनाएको समाचार आएको थियो ।
जापानले सन् २०१२ को सेप्टेम्बरमा यहाँको पाँच द्वीपलाई राष्ट्रियकरण गरेपछि जापान तथा चीनबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।
त्यसपछि चीनले उक्त द्वीपको नजिकै निरन्तर रूपमा आफ्नो तटरक्षकको गस्ती गर्ने गरेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us