विपन्न परिवारका बालबालिकामा कुपोषण

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ११:५७ मा प्रकाशित

कञ्चनपुर, ४ मंसिर– विपन्न परिवारका अधिकांश बालबालिकामा पोषणयुक्त खानेकुराको कमीका कारण कुपोषणको समस्या देखापर्न थालेको छ । कुपोषित हुने अधिकांश बालबालिका ग्रामीण क्षेत्रका दलित र विपन्न समुदायका बढी रहेका छन् ।

स्तनपान गराउने आमा र बालबालिकालाई पर्याप्त मात्रामा हरियो तरकारी, माछा मासु, दूध र आवश्यक अन्य खानेकुरा चाहिने भए पनि ती कुरा नपाउँदा बालबालिकामा कुपोषणको समस्या देखापरेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत हजारी चन्दले बताए ।

शीघ्र कुपोषणको समस्या देखापरेका ७८० बालबालिकालाई महाकाली अञ्चल अस्पतालमा खोलिएको पोषण पुनःस्थापना गृहमा भर्ना गरी उपचार गरेपछि हाल ६७८ कुपोषित बालबालिका कुपोषणमुक्त भएको र १०२ बालबालिकालाई सो गृहमा भर्ना गरी उपचार गराइएको उनले बतउ । चिकित्सकको सल्लाहमा पुनःस्थापना गृहमा कुपोषित बालबालिका र तिनका आमालाई राखेर लिटो, फलफूल र आवश्यक खाद्यपदार्थ खुवाई उपचार गरिन्छ ।

जनस्वास्थ्य कार्यालयमार्फत चार वर्षदेखि सञ्चालित ‘जनतामा आधारित पोषण कार्यक्रम’ मार्फत स्वास्थ्य चौकीमै समेत कुपोषणको उपचार गर्ने व्यवस्था गरिएपछि कुपोषित बालबालिकाको सङ्ख्या घट्दै गएको बताइएको छ । कार्यक्रम लागू भएपछि हालसम्म झन्डै पाँच हजार बालबालिकालाई उपचार गरी कुपोषण मुक्त पारिएको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us