संविधानसभा निर्वाचन शान्तिपूर्ण

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ७:०४ मा प्रकाशित

matadanकाठमाण्डु, ४ मंसिर– दोस्रो संविधानसभाको निर्वाचनमा मतदान कार्य सकिएको छ । निर्वाचन आगोगको तालिका अनुसार मंगलबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो ।

६५ प्रतिशत मत

निकै चासोपूर्ण रुपमा हेरिएको यस निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । यद्यपी एकाध स्थानहरुमा छिटफुट घटनाहरु भएका छन् । सरकारले निर्वाचन कतै पनि नबिथोलिएको जनाउँदै जनता उत्साहित रुपमा मतदानमा सहभागी भएको बताएको छ । देशैभर ६५ प्रतिशतभन्दा बढी मत खसेको बताउँदै निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ ।

मतगणना आजैबाट

मतदान कार्य सकिएसँगै मतवपेटिकाहरु गणनास्थल तथा सदरमुकाम ल्याउने तयारी भइरहेको छ । सबै दलका उम्मेदवार, प्रतिनिधि तथा सुरक्षाकर्मीको घेरामा राखेर मतपेटिकाहरु सुरक्षित रुपमा गन्तव्यमा पु¥याइँदैछन् । मतगणना आजैबाट सुरु हुने निर्वाचन आगोगले बताएको छ ।

जुम्लामा स्थगित
एउटा मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा भने निर्वाचन स्थगित हुन पुगेको छ । निर्वाचन बहिष्कार गरिरहेका नेकपा–माओवादीका कार्यकर्ताले मतपेटिकाहरु खोला फालिएका कारण जुम्लामा निर्वाचन स्थगित हुन पुगेको हो ।

दिउँसै अधिकांश मत खसे

देशैभर निवाचनको माहोल तातै रहेको बेला चितवनको अधिकांश मतदान केन्द्रमा भने दिउँसै मतदान कार्य सकिएको थियो । अपरान्हपछि चितवनका मतदान केन्द्रहरु सुनसानप्रायः भएको छ । बिहान सबेरैदेखि लाइन बसेर धेरैले १० बजेभन्दा अघि नै मत खसालेको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिएका थिए ।

देशको अधिकांश मतदान केन्द्रमा दिउँसै नै मतदाताहरु पातलिइ सकेका थिए । दिउँसो २ बजेसम्म अधिकांश मतहरु खसेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्त शंकरप्रसाद कोइरालाका अनुसार जनताले शान्तिपूर्ण रुपमा सहभागी हुँदै आफ्नो अमूल्य मत खसालेको भन्दै विशेष सुरक्षा रणनीति सफल भएको बताएका छन् ।

पर्यवेक्षण जारी

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु देशका विभिन्न स्थानमा अझै खटिरहेका छन् । उनीहरुले मत गणनाको अवधिमा पनि पर्यवेक्षण गर्नेछन् । निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र रुपमा सम्पन्न गर्नका लागि अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरले पनि उपत्यकाका विभन्न मतदान केन्द्रमा निरीक्षण जारी राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us